बेइजिङ, ११ भदौ । नेपाल–चीन सीमा क्षेत्रनजिकै चीनतर्फ छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै ठूलो ताल बनेको छ।
चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ। पानी तालबाट बाहिर बग्नसमेत थालिसकेको अनुमान गरिएको छ।
चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्स र चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) का अनुसार आगामी तीन दिनमा तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुनसक्ने अनुमान गरिएको छ। यससँगै ताल फुट्ने जोखिम उच्च रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिनियाँ जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। ताल फुटेमा आउन सक्ने बाढीको प्रभावबारे सिमुलेशन तथा विश्लेषण गरी आपत्कालीन उद्धारको तयारीसमेत भइरहेको छ।
नेपाल–चीन सीमाको नेपाली भूभागबाट सुरु भएको विनाशकारी लेदोसहितको पहिरोले चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) नाका आसपासमा समेत क्षति पुर्याएको छ।
विपद्पछि चिनियाँ अधिकारीहरूले उद्धार तथा राहतका लागि विभिन्न टोली परिचालन गरेका छन्। भौगोलिक कठिनाइ, निरन्तर वर्षा र थप विपद्को सम्भावनाबीच जनमुक्ति सेना, इन्जिनियरिङ टोली, टेलिकम अपरेटर तथा राहत संस्थाहरू उद्धार कार्यमा खटिएका छन्।
उद्धार टोलीले विमान तथा आवश्यक उपकरण र राहत सामग्री प्रयोग गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।


