कालिकामा विपन्न परिवारका थप १२ घर हस्तान्तरण, अझै ५० घर निर्माण गर्ने लक्ष्य

सन्तकुमार चौधरी-

कालिका, ९ भदौ ।  विपन्न परिवारका लागि सञ्चालन गर्दै आएको आवास कार्यक्रमअन्तर्गत कालिका नगरपालिका क्षेत्रका १२ विपन्न परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरेको छ। कालिका नगरपालिका–३ स्थित विजयटोलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, वडा नं. ३ का अध्यक्ष वीरेन्द्र तामाङ, वडा नं. २ का अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ५ का अध्यक्ष दीपकबहादुर भट्टराईलगायत जनप्रतिनिधि तथा सरोकारवालाले सम्बन्धित परिवारलाई घरको चाबी र प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

कालिका नगरपालिकाले नगरप्रमुख विपन्न आवास कार्यक्रमको कार्यविधि तथा निर्देशिकाअनुसार नगर क्षेत्रभित्र रहेका अति विपन्न परिवारको पहिचान गरी आवास निर्माण गर्दै आएको छ। यस क्रममा स्थानीय टोल विकास संस्था तथा सम्बन्धित वडा कार्यालयको समन्वय र सहभागितामा लाभग्राही परिवार छनोट गरिएको नगरपालिकाले जनाएको छ।

लाभग्राही परिवारको आर्थिक अवस्था, पुरानो घरको अवस्था, परिवारका सदस्यको संख्या, घरमा प्रयोग भइरहेका सामग्रीको अवस्था तथा ती सामग्री पुनः प्रयोग गर्न सकिने सम्भावनालगायतका विषयमा अध्ययन गरी आवास निर्माण प्रक्रिया अघि बढाइएको थियो। लाभग्राहीको प्रत्यक्ष सहभागितामा निर्माण कार्य सञ्चालन गरिएकाले कार्यक्रम थप प्रभावकारी बनेको जनप्रतिनिधिहरूको भनाइ छ।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख विनोद रेग्मीले नगरपालिकाले विपन्न परिवारका लागि आवास, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताको व्यवस्थापनमा प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले विपन्न परिवारलाई ‘नाना, छाना र खाना’को व्यवस्थापन गर्ने उद्देश्यले विभिन्न संघसंस्था तथा साझेदार निकायसँग सहकार्य गर्दै आएको जानकारी दिनुभयो।

‘समृद्ध कालिका, सुखी कालिकाबासी’ बनाउने उद्देश्यका साथ नगरपालिका अघि बढिरहेको बताउँदै नगर प्रमुख रेग्मीले वास्तविक रूपमा आवासको आवश्यकता भएका विपन्न परिवारलाई वडा कार्यालयको सिफारिसका आधारमा छनोट गरी आवास निर्माणमा लगानी गरिएको बताउनुभयो।

उहाँले विपन्न परिवारका लागि सञ्चालित आवास कार्यक्रम प्रभावकारी देखिएकाले चालु आर्थिक वर्षमा समेत कार्यक्रमलाई बजेटमै प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। नगरपालिकाले साझेदार संस्थासँगको सहकार्यमा यस आर्थिक वर्षमा थप ५० वटा विपन्न परिवारका लागि घर निर्माण गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो।

कार्यक्रममा कालिका नगरपालिका–३ का वडा अध्यक्ष वीरेन्द्र तामाङले लाभग्राही परिवारकै प्रत्यक्ष सहभागितामा आवास निर्माण गरिएकाले कार्यक्रम प्रभावकारी र पारदर्शी बनेको बताउनुभयो। उहाँका अनुसार वडा नं. ३ मा मात्रै ६ वटा विपन्न परिवारले नयाँ घर प्राप्त गरेका छन्।

नवनिर्मित घर हस्तान्तरण भए पनि कतिपय परिवारसँग घर निर्माण गरिएको जग्गाको स्वामित्वसम्बन्धी समस्या रहेको उल्लेख गर्दै अध्यक्ष तामाङले त्यसका लागि नगरपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो। उहाँले घर प्राप्त गरेका परिवारलाई जग्गाको स्वामित्वका विषयमा चिन्ता नलिन आग्रह गर्दै आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

यस आवास कार्यक्रमअन्तर्गत कालिका नगरपालिका र लुमन्तीको साझेदारीमा कुल १३ वटा घर निर्माण सम्पन्न भएको लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर वाईबाले जानकारी दिनुभयो। तीमध्ये १२ वटा घर सम्बन्धित परिवारलाई यसपटक हस्तान्तरण गरिएको हो भने एउटा घर यसअघि नै सम्बन्धित परिवारलाई हस्तान्तरण भइसकेको उहाँले बताउनुभयो।

वाईबाका अनुसार आवास निर्माणमा कालिका नगरपालिकाको १३ लाख ४४ हजार ६ सय ७८ रुपैयाँ तथा लुमन्तीको २५ लाख ८५ हजार ६७ रुपैयाँ बराबरको साझेदारी रहेको छ। नगरपालिकाको आर्थिक तथा लुमन्तीको प्राविधिक सहयोगमा आवास निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा लाभग्राही परिवारलाई निर्माण प्रक्रियामा समेत प्रत्यक्ष सहभागी गराइएको थियो। लाभग्राहीहरूले आफूलाई आवश्यक पर्ने निर्माण सामग्री खरिद गर्ने, सामग्रीको स्रोत पहिचान गर्ने, आवश्यक रकम तथा स्रोत व्यवस्थापन गर्ने र कामदार परिचालन गर्ने काम आफैं गरेको लुमन्तीका कार्यक्षेत्र संयोजक वाईबाले बताउनुभयो। यसले आवास निर्माणमा लाभग्राहीको अपनत्व बढ्नुका साथै घर निर्माण प्रक्रिया थप पारदर्शी र प्रभावकारी बनेको उहाँको भनाइ छ।

लुमन्तीका अनुसार कालिका नगरपालिका–१ मा एक, वडा नं. ३ मा छ, वडा नं. ५ मा चार, वडा नं. ६ मा एक र वडा नं. ७ मा एक गरी कुल १३ वटा घर निर्माण गरिएको हो। नगरपालिकाका विभिन्न वडामा आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका परिवारको पहिचान गरी उनीहरूलाई आवासको पहुँचमा ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

कार्यक्रममा लुमन्तीका समुदाय परिचालक विकास राना मगरले स्वागत मन्तव्य राख्नुभएको थियो। लाभग्राहीका तर्फबाट विजयटोलका जितबहादुर सिंतानले नयाँ घर निर्माण भएपछि परिवारको दैनिक जीवनमा आउने सहजता र परिवर्तनबारे अनुभव सुनाउनुभएको थियो।

कार्यक्रम विजयटोल विकास संस्थाका अध्यक्ष जोखलाल प्रजाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जनप्रतिनिधि, लुमन्तीका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, स्थानीय बासिन्दा तथा लाभग्राही परिवारको सहभागिता रहेको थियो।

विपन्न परिवारका लागि सुरक्षित र व्यवस्थित आवासको व्यवस्था गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले आर्थिक रूपमा कमजोर परिवारलाई आफ्नै घरमा सुरक्षित रूपमा बस्ने अवसर प्रदान गरेको छ। नगरपालिकाले आगामी दिनमा समेत साझेदार संघसंस्थासँग सहकार्यलाई निरन्तरता दिँदै थप विपन्न परिवारलाई आवासको पहुँचमा ल्याउने जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु