पाँच महिनापछि स्वदेश फर्किंदै देउवा, स्वागतका लागि सुरक्षा व्यवस्था कडा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज बिहीबार थाई एयरलाइन्सको उडानमार्फत काठमाडौं आइपुग्ने भएका छन् । अध्यागमन स्रोतका अनुसार उनको विमान दिउँसो १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाले देउवालाई विमानस्थलको सिनामंगलस्थित गोल्डेनगेटदेखि महाराजगञ्जस्थित निवास चुनादेवीसम्म सुरक्षा एस्कर्टको व्यवस्था गरिएको जानकारी दिए । उनले देउवालाई पक्राउ वा धरपकड गर्ने कुनै योजना नरहेको स्पष्ट पारे ।

गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका प्रदर्शनकारीबाट शारीरिक दुर्व्यवहारमा परेका देउवा उपचारका लागि सिंगापुर गएका थिए । उपचारपछि उनी पाँच महिनापछि बैंकक हुँदै स्वदेश फर्किन लागेका हुन् ।

प्रहरीका अनुसार देउवालाई स्वागत गर्न आउने कार्यकर्तालाई गोल्डेनगेट क्षेत्रसम्म भेला हुन अनुमति दिइनेछ । विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा भने नेपाली कांग्रेसका सीमित शीर्ष नेताहरूलाई मात्र प्रवेशको अनुमति रहने जनाइएको छ ।

विमानस्थलभित्रको स्वागत तथा प्रवेश व्यवस्थापनको जिम्मेवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले सम्हाल्ने बताइएको छ। –00–

Share:

सम्बन्धित समाचारहरु