प्राचीन थारू जडीबुटी ज्ञान संरक्षणका लागि चितवनमा गुरौहरूको भेला, जिल्ला तदर्थ समिति गठन

चितवन, साउन १३ – प्राचीन थारू गुरौहरूले पुस्तौंदेखि प्रयोग गर्दै आएको जडीबुटी संरक्षण, प्रवर्द्धन तथा त्यससम्बन्धी ज्ञान–सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले चितवनको भरतपुरमा थारू गुरौहरूको गोष्ठी सम्पन्न भएको छ ।

थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा सम्पन्न गोष्ठीले रामदिन महतोको संयोजकत्वमा थारू गुरौ सभाको जिल्ला तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको छ ।

गठित समितिको सहसंयोजकमा शनिचरा पावे, सचिवमा नारायण महतो, कोषाध्यक्षमा राधा चौधरी तथा सदस्यहरूमा इन्द्र चौधरी, श्री प्रसाद महतो र लिल कुमार महतो चयन भएका छन् ।

गोष्ठीमा सहभागी गुरौहरूलाई तीन समूहमा विभाजन गरी जडीबुटी संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोग, परम्परागत उपचार पद्धतिसम्बन्धी ज्ञान-सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रभावकारी उपाय तथा जडीबुटीमा आधारित उपचार प्रणालीले हाल सामना गरिरहेका चुनौतीबारे विस्तृत छलफल गरिएको थियो । प्रत्येक समूहले आफ्नो निष्कर्ष प्रस्तुत गर्दै थारू समुदायको मौलिक उपचार पद्धति र जडीबुटीसम्बन्धी ज्ञानलाई व्यवस्थित रूपमा संरक्षण, अभिलेखीकरण तथा पुस्तान्तरण गर्न आवश्यक रहेको औँल्याएका थिए ।

सहभागीहरूले परम्परागत ज्ञान लोप हुने जोखिम बढ्दै गएको भन्दै यसको संरक्षणका लागि स्थानीय तह, सरकारी निकाय तथा सरोकारवाला संस्थाहरूले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले युवा पुस्तालाई जडीबुटीको पहिचान, प्रयोग विधि र उपचार प्रणालीबारे व्यवहारिक प्रशिक्षण उपलब्ध गराउन सके परम्परागत ज्ञानको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

गोष्ठीले थारू समुदायको मौलिक ज्ञान, सीप र उपचार परम्परालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्न संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ । –00–

Share:

सम्बन्धित समाचारहरु