लमजुङ, १२ साउन । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किएर आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार मङ्गलबार बिहान करिब २ः३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको ढुङ्गा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा क्षतिग्रस्त बनाएको हो।
धन्सारभित्र मानिस पुरिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा पुरिएका चारै जनाको सकुशल उद्धार गरिएको थियो।
उद्धारपछि घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि चिसंखु स्वास्थ्य चौकी, रामबजार लगिएको थियो। उनीहरूको अवस्था थप उपचार आवश्यक देखिएपछि बिहान ४ः१० बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा मर्स्याङ्दी गाउँपालिका–१ नायुँका स्थायी बासिन्दा भई हाल मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा बसोबास गर्दै आएका ५० वर्षीया शुकमाया विक, ५९ वर्षीय टिकबहादुर विक, १५ वर्षीया बिनिता विक र १६ वर्षीया अस्मिता विक रहेका छन्।
घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको तथा पहिरोको कारण र अन्य पक्षबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


