नवलपरासीका किसान चैते धानको मूल्य नपाउँदा निराश

नवलपरासी, २९ असार । नवलपरासीका किसानहरू यस वर्ष चैते धानको उचित मूल्य नपाउँदा निराश भएका छन्।

मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा उत्पादन गरेको करिब दश क्विन्टल धान प्रति क्विन्टल रु २,२०० मा मात्र बिक्री गर्नुपरेपछि आफू निकै खिन्न भएको बताए।

“गतवर्ष एउटै धान रु ३,००० भन्दा बढीमा बेचेको थिएँ,” किसान आलेले भने, “तर यसपालि लागतसमेत उठ्ने अवस्था छैन।”
बुद्धभूमि कृषक समूहका संयोजक समेत रहेका आलेका अनुसार समूहले पाँच बिघा क्षेत्रफलमा चैते धान खेती गरेको थियो। तर बजारमा न्यून मूल्य पाइएपछि अधिकांश किसानले आफ्नो उत्पादन घरमै थन्क्याउन बाध्य भएको उनले बताए।

“उचित मूल्य नपाएकाले किसानमा हतोत्साह छ,” संयोजक आलेले भने, “सरकारले मूल्य स्थायित्व र बजार सुनिश्चितता दिलाउनुपर्छ।”
स्थानीय तह र सम्बन्धित निकायको बेवास्ता तथा बिचौलियाको चलखेलका कारण किसानले वर्षभरको मेहनतको उचित मूल्य नपाएको उनीहरूको गुनासो छ।

Share:

सम्बन्धित समाचारहरु