पत्रकारितामा एआईको प्रयोग सिकाउँदै थारु पत्रकार संघ, नेपाल

चितवन, साउन १२ । थारु पत्रकार संघ, नेपालको आयोजनामा आधारभूत पत्रकारिता तथा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसम्बन्धी दुईदिने अनलाइन प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

थारु पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष सन्तकुमार चौधरीका अनुसार पत्रकारिताको बदलिँदो प्रविधि, समाचार लेखनको गुणस्तर अभिवृद्धि तथा डिजिटल युगका नयाँ अवसर र चुनौतीलाई ध्यानमा राख्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो। उहाँले थारु समुदायका पत्रकारहरूलाई व्यवसायिक, दक्ष र प्रविधिमैत्री बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।

“पत्रकारिता क्षेत्र अहिले तीव्र रूपमा परिवर्तन भइरहेको छ। नयाँ प्रविधि र कृत्रिम बुद्धिमत्ताको प्रयोगले सञ्चार क्षेत्रलाई नयाँ दिशामा लैजाँदैछ। यस्तो अवस्थामा थारु समुदायका पत्रकारहरूलाई पनि समयअनुसार अद्यावधिक र सक्षम बनाउन प्रशिक्षण आयोजना गरिएको हो,” – अध्यक्ष चौधरीले बताउनुभयो।

प्रशिक्षण कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय अध्यक्ष लक्की चौधरी र थारु पत्रकार संघ, नेपालका सल्लाहकार डा. कृष्णराज सर्वहारीले सहजीकरण गरिरहनुभएको छ। पहिलो दिन फोनिजका संघीय अध्यक्ष लक्की चौधरीले आधारभूत पत्रकारिता, पत्रकारिताको सिद्धान्त, समाचारको महत्व, पत्रकारको भूमिका, सञ्चार नैतिकता तथा समसामयिक पत्रकारिताका चुनौतीहरूबारे प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षणका क्रममा सहभागी पत्रकारहरूले समाचार संकलन, स्रोत व्यवस्थापन, तथ्य परीक्षण, निष्पक्ष पत्रकारिता र डिजिटल माध्यमको प्रभावकारी प्रयोगबारे जिज्ञासा राखेका थिए। प्रशिक्षक लक्की चौधरीले पत्रकारितामा विश्वसनीयता, तथ्यमा आधारित समाचार सम्प्रेषण तथा समुदायकेन्द्रित पत्रकारिताको महत्वबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रमको दोस्रो दिन थारु पत्रकार संघका सल्लाहकार डा. कृष्णराज सर्वहारीले समाचार लेखन, समाचारका तत्व, रिपोर्टिङ सीप, भाषा तथा प्रस्तुतीकरणका विषयमा प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ। उहाँले समाचारलाई प्रभावकारी, तथ्यपरक र पाठकमैत्री बनाउन अपनाउनुपर्ने विधि तथा अभ्यासका विषयमा सहजीकरण गर्नुहुनेछ।

त्यसैगरी थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तकुमार चौधरीले पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, यसको अवसर, चुनौती तथा व्यावहारिक उपयोगिताबारे प्रशिक्षण दिनुहुनेछ। पत्रकारितामा समाचार लेखन, तथ्य संकलन, सामग्री व्यवस्थापन, अनुवाद, शीर्षक निर्माण, भिडियो सामग्री उत्पादन तथा अनुसन्धानका क्षेत्रमा एआईको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई जानकारी गराइनेछ।

संघका उपाध्यक्ष सवि चौधरीले पनि पत्रकारितामा एआईको प्रयोगलाई थप प्रभावकारी बनाउने विषयमा सहजीकरण गर्नुहुनेछ। एआईका विभिन्न उपकरणहरूको प्रयोग, जिम्मेवार उपयोग तथा पत्रकारिताको गुणस्तर सुधारमा प्रविधिको योगदानबारे उहाँले व्यावहारिक जानकारी दिने कार्यक्रम रहेको छ।

प्रशिक्षण कार्यक्रम हरेक दिन बिहान ७ः३० बजेदेखि करिब डेढदेखि दुई घण्टासम्म भर्चुअल माध्यमबाट सञ्चालन भइरहेको छ। बिहानको समयलाई रचनात्मक रूपमा सदुपयोग गर्दै देशका विभिन्न जिल्लामा कार्यरत पत्रकारहरूलाई एकै प्लेटफर्ममा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थारु पत्रकार संघका महासचिव हेमन्त चौधरीले जानकारी दिनुभयो।

उहाँका अनुसार सहभागीहरूको उत्साहजनक सहभागिता र विषयवस्तुको व्यापकता हेर्दा निर्धारित समय पर्याप्त नभए प्रशिक्षण अवधि एक दिन थप गर्ने सम्भावना समेत रहेको छ। “सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया आएको छ। विषयवस्तु पनि महत्वपूर्ण भएकाले आवश्यक परे कार्यक्रमको अवधि थप गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

पहिलो दिनको प्रशिक्षण कार्यक्रममा चितवन, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, बाँके, कपिलवस्तु, नवलपरासी, रुपन्देही, सुनसरी, मोरङ, झापा, पर्सा, बारा लगायत देशका विभिन्न जिल्लाबाट ४० भन्दा बढी थारु पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रम थारु पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष सन्तकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो। थारु समुदायका पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रशिक्षणमा पहिलो दिन ४० भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो । –00—

Share:

सम्बन्धित समाचारहरु