चितवन, १७ जेठ । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानहरूले हाल अण्डाको मूल्य वृद्धि भएपछि केही राहत महसुस गरेका छन्। उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर अण्डाको मूल्य बढेको हो।
नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी नयाँ अण्डाको समर्थन मूल्य सार्वजनिक गरेको छ। संघले एक्सएल साइजको अण्डा प्रति क्रेट (३० वटा) रु ४८०, ठूलो अण्डा रु ४६५ र मझौला अण्डा रु ४३५ को दरले फार्म मूल्य तोकेको छ।
यसअघिको मूल्यभन्दा यो प्रतिक्रेट रु १५ ले वृद्धि भएको हो। यो हिसाबले किसानले प्रति अण्डा रु १५.०५ पाउने भएका छन्।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, किसानको लागत मूल्य प्रति अण्डा रु १६.५६ रहेको हुँदा हालको मूल्य अझै पनि लागतभन्दा तल नै रहेको बताउनुभयो। “बढ्दा समेत किसानले लागत मूल्य पाउन सकेका छैनन्, तर पनि मूल्य वृद्धि हुँदा राहत महसुस गरिरहेका छन्,” अध्यक्ष पोखरेलले भन्नुभयो।
पोखरेलका अनुसार हालको चर्को गर्मीका कारण अण्डा उत्पादनमा करिब २५ प्रतिशतले गिरावट आएको छ। गर्मी मौसममा कुखुराले कम दाना खाने, रोग लाग्ने, र अण्डा उत्पादन घटाउने अवस्था देखिएको उहाँले बताउनुभयो।
पाँच महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २५ हजार हाराहारी मा झरेको छ। दानाको मूल्य बढ्दै गएको, तर अण्डाको मूल्य घटिरहेको अवस्थामा धेरै किसानहरूले कुखुरा बेचेर नयाँ चल्ला राख्नसमेत नसकेको पोखरेलले जानकारी दिनुभयो।
उत्पादन गर्ने कुखुरा घट्दा र बजारमा माग बढ्दा अण्डाको मूल्य अझै बढ्ने सम्भावना रहेको छ। पोखरेलका अनुसार अहिले नेपालका करिब ७५ प्रतिशत अण्डा उत्पादक किसान व्यवसायबाट विस्थापित भइसकेका छन्। तर, ठूला फार्महरू सञ्चालनमा रहेकाले मागलाई केही हदसम्म पूर्ति गरिरहेका छन्।

