सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एकको मृत्यु, ९ प्रहरीसहित १८ जना घाइते

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसहित १८ जना घाइते भएका छन्।

मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–३ का ३० वर्षीय ओमप्रकाश मेहता रहेका छन्। गएराति करिब साढे १० बजे कप्तानगञ्ज क्षेत्रमा उत्पन्न तनाव नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा उनी घाइते भएका थिए। उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश पराजुलीका अनुसार घटनामा नेपाल प्रहरीका चार, सशस्त्र प्रहरीका पाँच तथा प्रदर्शनकारी पक्षका नौ जना गरी कुल १८ जना घाइते भएका छन्। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक जानकारीअनुसार बोलबम यात्रामा सहभागी एक समूह ठूलो आवाजमा गीत बजाउँदै सप्तकोशी नदीतर्फ गइरहेका बेला अर्को समूहले त्यसको विरोध गरेपछि विवाद सुरु भएको थियो। विवाद चर्किँदै गएपछि दुवै पक्षबीच झडप भएको र अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दै गोली चलाएको जनाएको छ।

घटनापछि देवानगञ्जसहित आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु