चितवन,२७ बैशाख । चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले झुण्डिएर आत्महत्या गरेकी छन् ।
परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि उनले कोठामा गएर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले मृतकको साथबाट कुनै सुसाइट नोट नभेटिएको तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई हलबाट निकालिएको खुलेको छ ।
प्रहरीका अनुसार पाल्पा रामपुर स्थायी घर भइ पोखरा बस्ने मृतक थापा भरतपुर सप्तगण्डकी चोक स्थित गंगाबहादुर थापाको घरमा डेरा गरी बसेकी थिइन् । उनले आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।
मेडिकल कलेजका विद्यार्थीहरुले भने परीक्षामा खटिएका शिक्षकले जबरजस्ती मानसिक तनाव दिएको कारण उनले आत्महत्या गरेको जनाएका छन् । विद्यार्थीहरुले प्रेस विज्ञप्ति जारीगर्दै उनीहरुले घटनाको छानबिनगरी दोषीलाई कार्वाहीगर्नुपर्ने माग गर्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् ।
आज प्रेषित गरेको विज्ञप्तिमा मृतक थापाले आन्तरिक परीक्षा दिइरहेको समयमा परीक्षामा खटिएको शिक्षकले जबरजस्ती मानसिक तनाव दिई परीक्षा हलबाट निकालेपछि उनी आत्महत्या गर्न बाध्य भएको जनाइएको छ । विद्यार्थीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् । दोषीलाई कारवाही र पीडितले न्याय नपाए सम्म चितवन मेडिकल कलेजको सम्पूर्ण ओ.पि.डि. सेवा अनिश्चत समयका लागि बन्द रहने विद्यार्थी संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

–00–


