भदौ २४, चितवन। पूर्वीचितवनको झुरझुरेमा रहेको एक दाना उद्योगमा आगलागी भएको छ । राप्ती नगरपालिका वडा नम्बर ३ स्थित मञ्जुश्री दाना उद्योग प्रा।लिमा आगलागी भएको हो । कुखुराको दाना उत्पादन गर्ने स्थानमा गएराति आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट दाना बनाउने मेसिनमा क्षति पुगेको छ भने तयारी दाना , दाना उत्पादनको लागि राखिएको मकै, पिना, ढुटो जलेर नष्ट भएको पोल्ट्री फर्मका संचालक किरण भूषण ओलीले जानकारी दिए । आगलागीबाट करिब १ करोड ५० लाख रुपैयाँको क्षति भएको ओलीले बताए । विद्युत सर्ट भएर राति करिब पौने २ बजेबाट लागेको आगो दमकल , प्रहरी र स्थानियको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा आएको थियो ।