काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्मको समय मागेको जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने र त्यसको कार्यान्वयनका लागि सोमबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘सरकार गम्भीर नभएर आइतबारसम्म सम्झौता भएन भने हामी आन्दोलनमा उत्रन्छौं,’ प्रसाईंले भने ।
प्रसाईंले आन्दोलनका क्रममा लघुवित्त, सहकारी तथा बैंकहरूलाई गाउँगाउँबाट लखेट्ने चेतावनीसमेत दिए । साथै, आगामी फागुन २१ गते हुने निर्वाचन बिथोल्ने उनको भनाइ छ । ‘हामीले आफ्ना मुद्दामा जनमत संग्रह गरेर लोकतन्त्रको अधिकतम प्रयोग गरौं भनेका छौं । विद्रोहमा नजाऔं भनेर सरकारलाई आग्रह गरेका छौं,’ उनले भने, ‘तर आइतबारसम्म सम्झौतामा हस्ताक्षर भएन भने हामी गाउँस्तरबाटै लघुवित्त, सहकारी र बैंकविरुद्ध आन्दोलन सुरु गर्छौं ।’
सरकारसँग भएको वार्तापछि पनि ठोस सहमति नभएको भन्दै अभियानले दबाबमूलक कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।–00–

