चितवन,९ जेठ । चितवन उद्योग सङ्घले निर्माण गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बजेट अभावका कारण पूरा हुनसकेको छैन । विसं २०७३ असार ३१ गते जग्गा भाडामा लिई निर्माण सुरु गरिएको सो प्रदर्शनी केन्द्र बजेट अभावका कारण अहिलेसम्म पूरा हुन नसकेको हो ।
उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार दुई बिघा सात कठ्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको प्रदर्शनीस्थलमा अहिलेसम्म रु २७ करोड ७७ लाख ९१ हजार आठ सय ३९ खर्च भइसकेको छ । स्थल निर्माणका लागि रु ३७ करोड खर्च हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “स्थल निर्माणका लागि हामीले विभिन्न मन्त्रालयमा ताकेता गरेको भए पनि बजेट नपाउँदा निर्माणको काम सम्पन्न हुनसकेको छैन ।” सङ्घीय सरकारको रु १५ करोड, चितवन उद्योग सङ्घका सदस्यहरूको रु छ करोड ३२ लाख ८८ हजार नौ सय ९२, नेपाल उद्योग परिसङ्घको रु तीन करोड र जिल्ला समन्वय समितिको रु एक लाख ९७ हजार तीन सय ४५ बजेटमा भवन निर्माण गरिएको हो ।
प्रदर्शनीस्थल निर्माणका लागि आवश्यक बजेट अपुग भएपछि पदाधिकारीहरूले व्यक्तिगत जवानी बसेर बैंकबाट ऋण निकालेर काम अघि बढाएका थिए । विगत एक वर्षअघि माछापुच्छ्रे बैंकबाट रु तीन करोड ऋण लिएर निर्माणको काम गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनीका लागि सङ्घका पदाधिकारी मिलेर व्यक्तिगत जिम्मेवारीमा ऋण लिएर काम ग¥यौँ । तर अझै पूरा हुन सकेन ।” अहिले भौतिक संरचना तयार भए पनि आन्तरिक काम हुन नसकेको उहाँले जानकारी दिनुभयो ।–00–


