चितवन, १२ साउन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै मुग्लिङ–नारायणगढ सडकखण्डमा माइक्रोबस र स्कार्पियो एक आपसमा ठोक्किँदा दुई जना यात्रु घाइते भएका छन्।
आज दिउँसो करिब ३:१५ बजे काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा २ ख ८३७२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको BAE ३४९८ नम्बरको स्कार्पियो एक आपसमा ठोक्किँदा माइक्रो सडकमा पल्टिएको थियो। दुर्घटनामा माइक्रोबसमा सवार दुई जना यात्रु सामान्य घाइते भएका छन्।
घाइते हुनेमा कास्की पोखरा महानगरपालिका–१० की ५६ वर्षीया पुनमाया गुरुङ र अर्की २३ वर्षीया सुनिता गुरुङ रहेका छन्। पुनमायाको बायाँ खुट्टा र हातमा सामान्य चोट लागेको छ भने सुनिताको हातमा सामान्य चोट लागेको छ। घाइते दुवै जनालाई एम्बुलेन्समार्फत भरतपुर अस्पताल पठाइएको छ।
दुबै सवारी साधनमा क्षति पुगेको छ। माइक्रोका चालक भरतपुर महानगरपालिका–१२ निवासी २३ वर्षीय चन्द्रप्रसाद शेरचन र स्कार्पियो चालक ललितपुर महालक्ष्मी नगरपालिका–९ निवासी ४६ वर्षीय श्यामसुन्दर पौडेल प्रहरीको सम्पर्कमा रहेका छन्।
दुर्घटनापछि केहीबेर अवरुद्ध भएको सडक दुबै सवारी हटाएसँगै पुनः सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घटनास्थलमा अस्थायी प्रहरी पोस्ट जलविरेका प्रहरी निरीक्षक राजेश चौधरी सहनीको नेतृत्वमा ट्राफिक टोली र इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक प्रतिक सिंहको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो। दुर्घटना स्थल जलविरे प्रहरी पोस्टदेखि करिब ४ किलोमिटर पश्चिमतर्फ रहेको छ।–00—


