पश्चिम एसियामा बढ्दो तनावबीच अमेरिकाद्वारा विश्वभरका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं। अमेरिकाको विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकलाई लक्षित गर्दै नयाँ सुरक्षा चेतावनी जारी गरेको छ। पश्चिम एसियामा बढ्दो तनावका कारण सुरक्षा अवस्था थप जटिल बन्दै गएको भन्दै मन्त्रालयले सबै अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

शनिबार जारी गरिएको विज्ञप्तिमा विशेषगरी पश्चिम एसियामा रहेका अमेरिकी नागरिकलाई सुरक्षा अवस्थाबारे निरन्तर जानकारी राख्न, स्थानीय प्रशासन र अमेरिकी दूतावासले जारी गर्ने निर्देशनको पालना गर्न तथा आवश्यक परे तत्काल सुरक्षात्मक कदम चाल्न अनुरोध गरिएको छ।

विदेश मन्त्रालयले स्थानीय सञ्चारमाध्यममार्फत प्रकाशित सुरक्षा सूचनालाई नियमित रूपमा पछ्याउन र यात्रा वा आवतजावत गर्दा विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “पश्चिम एसियामा बढ्दो तनावका कारण सुरक्षा वातावरण जटिल बनेको छ। परिस्थिति कुनै पनि बेला अचानक बिग्रन सक्ने भएकाले सबै अमेरिकी नागरिकले उच्च सतर्कता अपनाउनुपर्छ।”

मन्त्रालयले क्षेत्रीय तनावका कारण अन्तर्राष्ट्रिय हवाई सेवा प्रभावित हुन सक्ने जनाएको छ। उडान रद्द, ढिलाइ वा आवश्यकता अनुसार हवाई क्षेत्र अस्थायी रूपमा बन्द हुन सक्ने भएकाले यात्रुहरूलाई यात्रा योजना बनाउँदा सावधानी अपनाउन सुझाव दिइएको छ।

साथै, विगतमा पश्चिम एसियाबाहिर रहेका अमेरिकी दूतावास तथा कूटनीतिक कार्यालयहरू पनि आक्रमणको निशानामा परेको उल्लेख गर्दै इरान समर्थित समूहहरूले विश्वका विभिन्न स्थानमा अमेरिकी नागरिक, संस्था तथा अमेरिकी हितसँग सम्बन्धित स्थानहरूलाई लक्ष्य बनाउन सक्ने चेतावनी मन्त्रालयले दिएको छ।

युद्धविराम भंग भएपछि फेरि चुलियो अमेरिका–इरान तनाव

अमेरिकाको यो चेतावनी अमेरिका र इरानबीच पछिल्लो समय पुनः बढेको तनावका बीच आएको हो।

गत महिना दुवै देशबीच १४ बुँदे समझदारी भएको थियो, जसको उद्देश्य द्वन्द्व अन्त्य गर्दै इरानको आणविक कार्यक्रम, होर्मुज जलमार्गको समुद्री सुरक्षा तथा अन्य संवेदनशील विषयमा वार्ताको वातावरण तयार गर्नु रहेको बताइएको थियो।

तर, युद्धविराम भंग भएपछि दुवै पक्षबीच पुनः सैन्य तनाव चर्किएको छ। अमेरिकाले इरानका सैन्य तथा केही नागरिक पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको जनाइएको छ भने त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरिएको छ।

दुवै देशबीचको बढ्दो तनावले पश्चिम एसियाको सुरक्षा अवस्था थप संवेदनशील बनेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु