सर्लाही, ३ साउन। सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका एक युवकको सुरक्षाकर्मीको सक्रियतामा सकुशल उद्धार गरिएको छ।
उद्धार गरिएका युवक गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार हुसैन रातिको समयमा नै टेलिकमको टावरमा चढेको हुन सक्ने अनुमान गरिएको छ। उनले शनिबार बिहान करिब ४ बजे आफ्ना एक साथीलाई फोन गरेर घटनास्थलमा बोलाएपछि घटनाबारे जानकारी प्राप्त भएको थियो।
घटनाको सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारका लागि परिचालन गरिएको थियो।
उद्धारका क्रममा प्रहरीले हुसैनका बुवा र दाजुलाई घटनास्थलमा बोलाई टेलिफोनमार्फत उनीसँग संवाद गराएको थियो। परिवारका सदस्यसँगको कुराकानीपछि हुसैन स्वेच्छाले टावरबाट तल ओर्लिएका थिए। सकुशल उद्धार गरिएका हुसैनलाई थप आवश्यक प्रक्रिया तथा परामर्शका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
युवक टावरमा चढ्नुको कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।—00—


