चितवन, साउन २ – चितवन राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडाको मृत्यु भएको छ। निकुञ्जका अनुसार अधिकांश गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई वटा गैँडा करेन्ट लागेर मरेका छन्।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडाको मृत्यु भएको हो।
माडी क्षेत्र र नवलपरासी (सुस्तापूर्व) को लोकाहा खोलानजिक दुई वटा गैँडा करेन्ट लागेर मरेका थिए। माडीमा मध्यवर्ती क्षेत्रभित्र र नवलपरासीमा राष्ट्रिय वन क्षेत्रमा करेन्टका कारण गैँडाको मृत्यु भएको निकुञ्जले जनाएको छ।
अन्य गैँडाहरू भने दलदलमा फस्ने, आपसमा जुध्ने, वृद्धावस्था, रोग तथा बाघको आक्रमणबाट बच्चा गैँडाको मृत्यु हुनेजस्ता प्राकृतिक कारणले मरेका सूचना अधिकारी थापा मगरले बताए। तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा भने ३० वटा गैँडाको मृत्यु भएको थियो। तीमध्ये दुई वटा राष्ट्रिय वन क्षेत्रमा र बाँकी निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मरेका थिए।
चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या उल्लेखनीय भए पनि प्राकृतिक मृत्यु, मानव–वन्यजन्तु द्वन्द्व तथा विद्युत् करेन्टजस्ता जोखिमका कारण हरेक वर्ष गैँडा मर्ने क्रम जारी रहेको देखिन्छ। सन् २०२१ मा गरिएको राष्ट्रिय गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा वयस्क एकसिंगे गैँडा रहेका थिए।
संरक्षणकर्मीहरूका अनुसार गैँडाको प्राकृतिक मृत्यु सामान्य प्रक्रिया भए पनि करेन्ट तथा अन्य मानवीय कारणबाट हुने क्षति न्यूनीकरण गर्न थप निगरानी र संरक्षणका उपाय आवश्यक छन्।–00–


