स्वरोजगार लघुवित्तको दादागिरी : कर्मचारीद्धारा सासुबुहारीमाथी कुटपिट

कालिका, ६ असार । पूर्वी चितवनको कालिका नगरपालिकामा लघु वितीय संस्थाका कर्मचारीले ऋणीमाथी कुटपिट गरेको घटना सार्वजनिक भएको छ । घटना मंगलबार भएको हो ।

कालिका वडा नं ७ क्लवचोकमा रहेको स्वरोजगार लघुवित्तीय संस्थाको शाखा कार्यालयमा कार्यरत कर्मचारी सविता चौधरीले स्थानीय सासुबुहारीलाई कुटपिट गरेकी हुन । सावाँ व्याज रकम नतिरेको भन्दै सो नगरपालिकाको वडा नं ७ का रामकुमारी चौधरी र सुस्मिता चौधरीलाई कुटपिट गरेकी हुन् । संस्थाकी कर्मचारी चौधरीले सासु बुहारीलाई कुटपिट तथा अर्धनग्न हुनेगरी कपडा च्यातेको लघुवित्तीय संस्था विरुद्ध संघर्ष समिति चितवनकी अध्यक्ष सुधा पाठकले जानकारी दिइन् ।

यो लघुवित्तीय संस्थाहरुको दादागिरी हो अध्यक्ष पाठकले भनिन हामी यस्तै ज्यादतीका विरुद्धमा संघर्ष गरिरहेका छौं । संस्थाकी कर्मचारी चौधरीले पीडित सुस्मितालाई संस्थाबाट तीन लाख रुपैया निकाल्न लगाएर कर्मचारी चौधरी स्वयंले १ लाख ८० हजार लिएको बुझिएको छ । तीन लाख रुयैया निकालेर १ लाख ८० हजार संस्थाकी कर्मचारी दिएर सुस्मिताले १ लाख २० हजार आफुले राखेकी थिइन ।

सुस्मिताले १ लाख २० हजारको साँवा व्याज तिरिसकेर कर्मचारी चौधरीलाई १ लाख ८० हजारको साँवा प्याज तिर्न आग्रह गर्दा कर्मचारी चौधरीले घरमै गएर सविता र उनकी सासुलाई कुटपिट गरेकी हुन । संस्थाकी कर्मचारीले कुटपिट गरेको विषयमा उजुरी दिनजाँदा प्रहरी कार्यालयमै कर्मचारी सविताले सुस्मिता र उनकी सासुलाई आक्रमण गरेको संघर्ष समिति चितवनकी अध्यक्ष पाठकले जानकारी दिइन् ।

घटना लगतै पीडित पक्ष र संघर्ष समितिका पदाधिकारी तथा सदस्यहरुले स्वरोजगार वित्तीय संस्थाको क्लबचोक स्थित शाखा कार्यालयमा तालाबन्दी गरेका छन् । पीडितले मंगलबार नै जिल्ला प्रहरी कार्यालय चितवनमा संस्थाकी कर्मचारी विरुद्ध जाहेरी दिएका छन् ।

लघुवित्तीय संस्थाहरुको ज्यादतीका कारण चितवनमा हजारौ महिलाहरु पीडित बनेको भन्दै अध्यक्ष पाठकले लघुवित्तीय संस्थाको अत्याचार सहन नसकेर ग्रामिण क्षेत्रका महिलाहरुले आत्महत्या सम्मको बाटो रोज्ने गरेको बताइन् । घटनाको विषयमा स्वरोजगार लघुवित्तीय संस्था क्लवचोक शाखाका प्रमुखसंग बुझ्न खोज्दा उनको मोवाइलमा सम्पर्क हुन सकेन ।–00–

साभार, चितवन पोष्ट

Share:

सम्बन्धित समाचारहरु