चितवन, १३ वैशाख । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा थारु कल्याणकारिणी सभा चितवनले आयोजना गरेको २० दिने प्राकृतिक रेसा बरुवाजन्य बास्केट बुनाइ तालिम सम्पन्न भएको छ।
बेलाध प्रगन्ना क्षेत्र नं. ५ मा सञ्चालन गरिएको तालिममा २५ भन्दा बढी प्रकारका रेसा बरुवाजन्य सामग्री बनाउने सीप सिकाइएको थियो।
तालिमको समापन कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकी कार्यकारी सदस्य विष्णुकुमारी चौधरीले थारुहरूको परम्परागत ज्ञान र सीपको संरक्षणसँगै व्यवसायिक विकास आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार प्राकृतिक रेसा बरुवाजन्य सामग्रीहरूको माग अत्यधिक भए पनि प्रयाप्त जनशक्ति र उत्पादन हुन सकेको छैन । प्रतिष्ठानले सबै समुदायको परम्परागत ज्ञान र सीपको संरक्षणलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा सहभागीहरूले बरुवाजन्य सामग्री उत्पादनको सम्भावना रहे पनि सहजरूपमा बरुवा नपाउँदा थारुहरूको परम्परागत सीप हराउँदै गएको गुनासो व्यक्त गरेका थिए। भरतपुर वडा नं. २२ की आशा महतोले बरुवाको विकल्पमा केराको रेशा प्रयोग गर्न बाध्य भएको बताउनुभयो।
त्यसैगरी अर्की सहभागी मञ्जु महतोले हातबाट बुनेको बास्केट राम्रो र बलियो भए पनि बजार व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो। उहाँले एउटा बास्केट बनाउन धेरै मेहनत गर्नुपर्ने भएकाले परिश्रमअनुसारको मूल्य पाउन सके परम्परागत ज्ञानको संरक्षणसँगै आर्थिक स्रोतको रूपमा पनि उपयोग गर्न सकिने बताउनुभयो।
समापन कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनकी उपाध्यक्ष तथा तालिम संयोजक कल्पना पावेले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यस्तै, थाकस क्षेत्र नं. ५ का सचिव रञ्जिता चौधरी, प्रशिक्षक निलम महतो लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।










–00–

