काठमाडौं । पहिरोका कारण रातभर अवरुद्ध बनेको नागढुंगा–मुग्लिन तथा मुग्लिन–नारायणगढ सडकखण्ड शुक्रबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
धादिङका विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडकमा दुवैतर्फ सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ। बिहीबार साँझ धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राङ खानी क्षेत्रमा पहिरो खसेपछि पृथ्वी राजमार्ग रातभर पूर्ण रूपमा बन्द भएको थियो।
सडक अवरुद्ध हुँदा रोकिएका सवारीसाधन बिहानदेखि गन्तव्यतर्फ सञ्चालन हुन थालेका छन्। यद्यपि, वर्षा र पहिरोको जोखिम अझै कायम रहेकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाएर मात्रै यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले आपत्कालीन सहायता, समन्वय तथा जानकारीका लागि नेपाल प्रहरीको हटलाइन नम्बर १००, सशस्त्र प्रहरी बल नेपालको नम्बर १११४ तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।–00—


