१४ वर्षअघि बाबुआमा गुमाएका पूर्ण बोटे यसपटक श्रीमती र छोरा गुमाएर फेरि बने टुहुरो परिवार

 

चितवन, २१ असार। रात छिपिदै थियो। दिनभर मेलापात गरेर फर्किएको बोटे परिवारले खाना खाइसकेको थियो। भोलिपल्ट फेरि काममा जाने योजना बनाउँदै सबै सुत्ने तयारीमा थिए। त्यही बेला चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको एउटा धुब्रे जंगली हात्ती उनीहरूको घरअगाडि आइपुग्यो।
केही क्षणमै जस्ताले छाएको सानो घर युद्धभूमिजस्तै बन्यो।

हात्तीले खडाईको बार भत्कायो, घरका भित्तामा जाइलाग्यो। लगातार धक्का दिँदा कच्ची घरका भित्ताहरू भत्किन थाले। घरभित्र रहेका परिवारका सदस्य चिच्याइरहेका थिए, साना बालबालिका आतंकित थिए। तर हात्तीको आक्रमण रोकिएन। ज्यान जोगाउने अन्तिम प्रयासस्वरूप २५ वर्षीया आशिका बोटेले चार वर्षीय छोरा भरतलाई काखमा च्यापेर घरबाट भाग्न खोजिन्। तर उनीहरू घरबाट निस्किन पनि पाएनन्। हात्तीले आमाछोरामाथि आक्रमण गर्यो। दुवैजनाको घटनास्थलमै मृत्यु भयो।

त्यसबेला श्रीमान् पूर्ण बोटेले हात्ती धपाउने आशामा घरको पालीमा आगो लगाए। आगो दन्किएपछि मात्रै हात्ती त्यहाँबाट भाग्यो। तर हात्ती भाग्दा बोटे परिवारको संसार नै उजाड भइसकेको थियो।

यो हृदयविदारक घटना चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा गएराति भएको हो।
आगोका कारण बोटे परिवारको कच्ची घरसमेत क्षतिग्रस्त भएको छ। इलाका प्रहरी कार्यालय गीतानगरको टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रहरीले घटनाको कानुनी प्रक्रिया पूरा गरी मृतक आमा–छोराको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । आवश्यक प्रकृया पुरागरी सामाजिक परम्परा अनुसार अन्तेष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ ।

स्थानीय केरुङ्गा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लालबहादुर दवाडीका अनुसार पछिल्ला आठ–दश दिनदेखि गाउँमा लगातार जंगली हात्ती प्रवेश गरिरहेको थियो।
यसबारे चितवन राष्ट्रिय निकुञ्जलाई पटक–पटक जानकारी गराइएको थियो। केही दिनअघि मात्रै हात्तीलाई तत्काल नियन्त्रणमा नलिए मानवीय क्षति हुन सक्ने भन्दै निकुञ्ज प्रशासनमा डेलिगेसनसमेत गएको दवाडी बताउँछन्। यदि निकुञ्जले यो विषयलाई समयमै गम्भीर रूपमा लिएको भए आज दुई जनाको ज्यान जाने थिएन उनले भने- घटनापछि गाउँका मानिस रातभर सुत्न सकेका छैनन्।

घटनापछि चितवन राष्ट्रिय निकुञ्ज, नयाँ गोरखा गण, भरतपुर महानगरपालिका–२३ का जनप्रतिनिधिहरु, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, नेपाल प्रहरी इलाका कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक उपभोक्ता समितिका प्रतिनिधिहरूको संयुक्त बैठक बसेको थियो। बैठकले जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अघि बढाउने, मृतक परिवारलाई निकुञ्जमार्फत तत्काल राहत उपलब्ध गराउने, घर पुनर्निर्माणमा सहयोग गर्ने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने चारबुँदे सहमति गरेको वडा अध्यक्ष दीपक दुवाडीले जानकारी दिए।

घटनालगत्तै पीडित परिवारलाई भेट्न पुगेका बोटे समाजका केन्द्रीय अध्यक्ष राजकुमार बोटेले सहमति कागजमै सीमित नभई कार्यान्वयन हुनुपर्ने बताए।
यो राजनीतिक विषय होइन, मानवीय संवेदनाको विषय हो उनले भने – घटना भएपछि लामो प्रक्रिया होइन, पीडित परिवारको तत्काल पुनर्स्थापना र उचित क्षतिपूर्ति आवश्यक छ।
उनले निकुञ्जको लापरबाहीका कारण मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको आरोपसमेत लगाए।

मृतक चार वर्षीय भरत बोट स्थानीय कदम आधारभूत विद्यालयको नर्सरी कक्षामा भर्ना भएका थिए। उनकी दिदी श्रीषा बोट सोही विद्यालयको कक्षा १ मा अध्ययनरत छिन्।

विद्यालयकी शिक्षिका सृजनादेवी रेग्मीका अनुसार आर्थिक अभावका बीच परिवारले छोराछोरीलाई विद्यालय पठाउन थालेको थियो। यो घटना नहुनु थियो उनी भन्छिन्- परिवारले पाउने राहत रकममध्ये केही हिस्सा श्रीषाको स्वास्थ्य र शिक्षाका लागि बालबचतमा राख्न सकियो भने भविष्यमा उसको जीवनलाई ठूलो सहारा मिल्न सक्छ।

यो घटनाको सबैभन्दा मार्मिक पक्ष भने अर्को छ। पूर्णबहादुर बोटेका लागि धुब्रे हात्ती नयाँ होइन। २०६९ सालमा माडीमा बस्दा यही धुब्रे हात्तीले उनका बाबु बुधराम बोट र आमा झरली बोटलाई घरमै आक्रमण गरेर मारेको थियो।

त्यसबेला प्राप्त क्षतिपूर्तिको रकमबाट पूर्णले भरतपुर–२३ मा सानो घडेरी किनेर नयाँ जीवन सुरु गर्ने प्रयास गरेका थिए। तर १४ वर्षपछि फेरि त्यही धुब्रे हात्तीले उनको परिवारमा अर्को बज्रपात गरिदियो।

यसपटक उनले बाबुआमा होइन, आफ्नी श्रीमती र चार वर्षीय छोरा गुमाए। एउटै हात्तीले एउटै परिवारका दुई पुस्तामाथि मृत्युको कहर दोहोर्याएको यो घटना एउटा सामान्य दुर्घटना होइन, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा हाम्रो तयारी, जिम्मेवारी र संवेदनशीलतामाथि उठेको गम्भीर प्रश्न पनि हो।—00—-

Share:

सम्बन्धित समाचारहरु