आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं, १४ असार । देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय बन्दै गएको छ । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन वायुको प्रभाव रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रसहित कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ। अहिले सुदूरपश्चिमको तराई क्षेत्र मुख्यतया सफा रहे पनि देशका अधिकांश स्थानमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।

विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर बदली रहने मौसमविद्ले बताएका छन्। कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

भारी वर्षा, चट्याङ र हुरीबाट जनधनको क्षति हुन सक्ने भएकाले प्रभावित क्षेत्रका सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।

Share:

सम्बन्धित समाचारहरु