पाहुना पर्खँदै थारु होमस्टे

बुटवल, १ बैशाख । पाहुनालाई आत्मियतासहित स्वागत सत्कार गर्न गत वर्षदेखि रुपन्देहीको सैनामैनामा थारु होमस्टे संचालित छ । बुद्धकालीन पूरातात्विक वस्तुले भरिपूर्ण सैनामैनामा पर्यटक आकर्षित गर्न होमस्टे सञ्चालन भएको हो ।

सैनामैना २ स्थित उचडिहवामा होमस्टे छ । जुन बुटवलदेखि १३ किलोमिटर पश्चिममा र पूर्वपश्चिम राजमार्गबाट २ किलोमिटरको उत्तरमा पर्छ । त्यहाँ पुग्नेले चुरे पहाडमा घुम्दै थारु समुदायका परम्परागत खाना खान र संस्कृति हेर्न पाउँछन् । होमस्टे संचालन समिति सचिव सूर्यमान थारुले थारु समुदायको भेषभुषा, कला संस्कृति, खानपान र रहनसहनको संरक्षण गर्दै नगद आम्दानी गर्न होमस्टे सञ्चालन गरिएको बताए ।

 

उचडिहवामा एक सय ५० थारु परिवार छन् । त्यसमध्येका २० घरमा होमस्टे चलाइएको छ । पाँच घरले दुई, दुई कोठाका छुट्टै पाहुना घर बनाएका छन् । १५ घरले एकरएक कोठा पाहुनाका लागि तयार गरेका छन् । हरेक कोठामा दुई, दुईवटा पलङ छन् । तिनमा दुई, दुई जनाका दरले बस्न सकिन्छ । हाल एक पटकमा ५० जना पाहुनालाई राख्न सकिन्छ । छुट्टै बनाइएका पाँचवटा पाहुना घर निर्माणमा सैनामैना नगरपालिकाले आर्थिक सहयोग गरेको हो । घरभित्रै रहेका पाहुना कोठा व्यवस्थापनमा पनि नगरपालिकाले सघाएको सचिव थारुले बताए ।

होमस्टे संचालन भएपछि गाउँ सफासुग्घर भएको स्थानीयहरू बताउँछन् । पाहुनाघर बनाएका सबै घरले अगाडि फूलबारी बनाएका छन् । घर नजिकै करेसाबारी छन् । पाहुनालाई आफ्नै घरको फूलले स्वागत गरिन्छ । बारीको तरकारी फलफूल खुवाइन्छ । घरकै मासु खुवाउन हरेक घरमा कुखुरा बाख्रा पालेका छन् । बस्न आउने पाहुनालाई थारु संस्कृति र परम्परा देखाएर मनोरञ्जन गराउँछन् ।

 

होमस्टेमा आउने पाहुनालाई परम्परागत थारु खाना खुवाइन्छ । हरेक घरमा घोगी, कछुवा, गँँगटा, मुसा, ढिकरी, पतोसमी ९गावाको साग र पकौडा०, अनुवा माछा, सर्पे माछा, चेर्ची ,चामलको मालपुवा, खान पाइन्छ । बाबरी र तुलसीका पात राखेको चिया खुवाइन्छ । पतिना, कागती, इमीलीको सर्वत दिन्छन् । परम्परागत नेपाली खाना खोज्नेलाई पनि अडर अनुसार आफ्नै घरमा पालेका कुखुरा र खसीको मासु पनि खुवाउने गर्छन् ।–00–

 

कान्तिपुर-

Share:

सम्बन्धित समाचारहरु