कमला वली हत्या प्रकरण : उच्च अदालतद्वारा चारै प्रतिवादी थुनामा राख्न आदेश

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ की २६ वर्षीया कमला खड्का वली हत्या प्रकरणमा उच्च अदालत तुलसीपुरले महत्वपूर्ण आदेश दिएको छ। अदालतले नेपाल सरकारका लेखा अधिकृत रहेका उनका श्रीमान गोपाल वलीसहित चारै जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले जिल्ला अदालत दाङको अघिल्लो आदेश बदर गर्दै गोपाल वलीका बुबा कर्णबहादुर वली, भाउजू टीका केसी र बहिनी पुतला वलीलाई समेत थुनामा पठाउने निर्णय गरेको हो।

यसअघि जिल्ला अदालत दाङले गोपाल वलीलाई मात्र थुनामा राख्न आदेश दिएको थियो भने अन्य तीन जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो। उक्त आदेशविरुद्ध पीडित पक्षले उच्च अदालतमा पुनरावेदन गरेपछि उच्च अदालतले घटनाका प्रमाण, परिस्थितिजन्य तथ्य र अनुसन्धानबाट प्राप्त विवरणको आधारमा सबै प्रतिवादीलाई थुनामै राखेर मुद्दाको अन्तिम किनारा लगाउनुपर्ने ठहर गरेको हो।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार उपलब्ध प्रमाणहरू पर्याप्त रहेको निष्कर्ष निकाल्दै जिल्ला अदालतको आदेशलाई बेरितको ठहर गरेको छ।

गत चैत १२ गते तुलसीपुर–१९ स्थित आफ्नै घरमा कमलामाथि कुटपिट भइरहेको बेला परिवारका अन्य सदस्यले उनलाई बचाउने प्रयास नगरेको आरोप सुरुदेखि नै उठ्दै आएको थियो। स्थानीयका अनुसार कमला र उनका नाबालक छोराछोरीले गुहार माग्दा समेत कसैले हस्तक्षेप गरेका थिएनन्।

छिमेकीहरू उद्धारका लागि घरभित्र प्रवेश गर्न खोज्दा गोपालका बुबा कर्णबहादुर वली लाठी लिएर छतमा उभिएको र कसैलाई घरभित्र जान नदिएको आरोप पनि लागेको थियो। प्रहरी अनुसन्धानका क्रममा यस्ता तथ्यहरू पुष्टि भएको जनाइएको छ।

गम्भीर घाइते बनेकी कमलालाई उनका नाबालक छोराले घरबाहिर ल्याएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। कमला र गोपालका एक छोरा र एक छोरी रहेका छन्।

अदालतले शव परीक्षण प्रतिवेदन, घटनास्थल मुचुल्का, प्रत्यक्षदर्शी तथा बालबालिकाको बयानलाई महत्वपूर्ण प्रमाणका रूपमा ग्रहण गरेको छ। शव परीक्षण प्रतिवेदनमा टाउकोमा लागेको गम्भीर चोटका कारण कमलाको मृत्यु भएको उल्लेख गरिएको छ। घटनास्थलबाट चारवटा दाउराका टुक्रा बरामद भएको र मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथ्यलाई पनि अदालतले आधार बनाएको छ।

उच्च अदालतको पछिल्लो आदेशसँगै अब गोपाल वलीसहित चारै जना प्रतिवादीले थुनामै बसेर मुद्दाको अन्तिम फैसला कुर्नुपर्ने भएको छ। —00–

Share:

सम्बन्धित समाचारहरु