कालिका । कालिका नगरपालिका–३ अन्तर्गत रहेको मातृभूमि कृषि तथा पशुपंक्षी सहकारी संस्थामा आबद्ध किसानहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा मल्चिङ प्लास्टिक वितरण गरिएको छ।
कालिका नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत किसानहरूको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अनुदानमा कृषि सामग्री वितरण गरिएको हो। कार्यक्रममा कालिका नगरपालिकाका उपप्रमुख विमला तमाङ, वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तमाङ तथा कृषि शाखा प्रमुख सन्तोष न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

कृषि शाखा प्रमुख सन्तोष न्यौपानेका अनुसार हालसम्म वडा नं. १, ५, ६, ७, ९ र ११ मा समेत विभिन्न प्रकारका कृषि औजार तथा सामग्री वितरण गरिसकिएको छ। वितरण गरिएका सामग्रीमध्ये ६ जना किसानले मकै रोप्ने मेसिन, १३ जनाले मकै छोडाउने मेसिन, २ जनाले झार गोड्ने मेसिन, ५ जनाले मिनी टिलर, ९ जनाले डिजिटल काँटा तथा १४३ जनाले मल्चिङ प्लास्टिक रोल प्राप्त गरेका छन्।

नगरपालिकाले आगामी दिनमा अन्य वडाका किसानहरूलाई समेत आवश्यक कृषि औजार तथा सामग्री वितरण गर्ने तयारी गरेको जनाएको छ। यस कार्यक्रमले आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै किसानहरूको उत्पादन र आम्दानी वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


–00—

