नारायण सापकोटाको अध्यक्षतामा माडी प्रज्ञा प्रतिष्ठान गठन

-रेशम सापकोटा । सेतो नेपाल
माडी, १८ असार । माडी नगरपालिकाको नगरसभाले विभिन्न विधामा सक्रिय स्रष्टा, साहित्यकार, कलाकार, संस्कृतिविद्, धार्मिक अध्येता र शिक्षाविद्हरूलाई समेट्दै पत्रकार नारायण प्रसाद सापकोटाको अध्यक्षतामा १५ सदस्यीय माडी प्रज्ञा प्रतिष्ठान गठन गरेको छ।

नगरसभाबाट विधिवत् पारित गरिएको उक्त प्रस्तावबारे माडी नगरपालिकाका सूचना अधिकृत प्रविण भण्डारीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “स्थानीय सन्दर्भमा मौलिक सिर्जना, संरक्षण र अनुसन्धानलाई संस्थागत ढंगले अघि बढाउन प्रतिष्ठान गठन गरिएको हो। यसले माडी नगरको भाषा, साहित्य, संस्कृति, इतिहास र सम्पदाको अध्ययन, संरक्षण तथा सम्वर्द्धनमा ऐतिहासिक योगदान दिनेछ।”

चितवनमा लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका अग्रज सञ्चारकर्मी नारायण सापकोटाको अध्यक्षतामा गठन भएको प्रतिष्ठानको उपाध्यक्षमा साहित्यसर्जक तथा शिक्षक चन्द्रमणि महतो रहनुभएको छ।

प्राज्ञ सभा सदस्यहरूमा थारु लोककलाकार हिरामति गुरौ, रंगकर्मी सुमन तिमिल्सिना, विचारक सत्यप्रकाश पौडेल, थारु लोककलाकार इन्द्रादेवी महतो, कवि एवं शिक्षक बिपिन पाठक, कलाकार तथा शिक्षक नारायण ‘आभाष’ दुवे, लोक कलाकार प्रेमकुमार बिष्ट, लोक गायिका अञ्जु तामाङ, शिक्षक एवं गजलकार ईन्दिरा दाहाल, धार्मिक अध्येता पण्डित सुदर्शन सुवेदी, मूर्तिकार सूर्य के.सी. ‘मध्यरात’, पार्वती बि.क. र दुरा संस्कृतिका ज्ञाता तथा पर्यटनकर्मी श्याम दुरा रहनुभएको छ।

त्यसैगरी जनप्रतिनिधिहरुबाट एकजना विषयगत समिति संयोजक पदेन सदस्यका रूपमा रहनेछ भने माडी नगरपालिकाले तोकेको एक जना कर्मचारी सदस्य सचिवको रूपमा रहने व्यवस्था गरिएको छ।

माडी प्रज्ञा प्रतिष्ठानले स्थानीय भाषा, साहित्य, लोकसंस्कृति, दर्शन, सामाजिकशास्त्र, गीत–संगीत, मौखिक परम्परा, पुरातात्विक सम्पदा, ललितकला, ज्ञान–विज्ञान लगायत विविध विषयमा अनुसन्धान, सृजनात्मक लेखन, अभिलेखीकरण, संरक्षण र प्रवर्द्धनको काम गर्नेछ।

धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण माडी नगरको बौद्धिक एवं सृजनात्मक पहिचान निर्माण गर्न प्रतिष्ठानले दीर्घकालीन भूमिका खेल्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ। नगरपालिकाले पहिलोपटक प्राज्ञिक संरचना निर्माण गरी विविध विधाका व्यक्तित्वलाई एउटै थलोमा समेट्नु माडीको समग्र बौद्धिक विकासतर्फको ठुलो पाइला मानिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु