संघीय संसदका दुवै सदनको बैठक आज, बजेटमाथि सामान्य छलफल हुने

काठमाडौं,२१ जेठ । संघीय संसदको दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ।

प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजेका लागि बोलाइएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव वक्तव्यसहित पेस गर्ने छन्। सो प्रस्तावमाथि बैठकमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि रहेको छ।

उता, राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १:१५ बजे बस्नेछ। सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।

सरकारले जेठ १५ गते संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट पेस गरेको थियो। आजको दुवै सदनको बैठक त्यसैबारे प्रारम्भिक छलफलका लागि महत्वपूर्ण मानिएको छ।

Share:

सम्बन्धित समाचारहरु