छाप्रोबाट सुरक्षित घरसम्म : कालिकामा विपन्न परिवारको जीवन बदल्दै ‘मेयर आवास’ अभियान

सन्तकुमार चौधरी – 

चितवन । चितवनको कालिका नगरपालिका भित्रका केही परिवारका लागि वर्षौंदेखि वर्षा, हावा र चिसो सामान्य पीडा मात्रै थिएन, त्यो उनीहरूको दैनिक संघर्ष थियो। कतै जस्तापाताले छाएको जीर्ण छाप्रो, कतै काठको टहरो, त कतै चुहिने छानोमुनि रात बिताउँदै आएका परिवारहरू अहिले भने सुरक्षित घरको सपना पूरा हुने चरणमा पुगेका छन्।

नगरपालिकाले सञ्चालन गरेको ‘मेयर आवास कार्यक्रम’ अन्तर्गत विपन्न परिवारका लागि घर निर्माण अभियानलाई तीव्रता दिएपछि धेरै परिवारमा नयाँ आशा पलाएको छ। लुमन्ती आवासका लागि सहयोग समूह सँगको सहकार्यमा नगरपालिकाले पहिलो चरणमा १३ वटा घर निर्माण सुरु गरेको हो।

नगरप्रमुख विनोद रेग्मी का अनुसार नगरभित्र रहेका अत्यन्तै विपन्न, असहाय र जोखिमपूर्ण आवासमा बस्दै आएका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो।

कालिका–१ सूर्यपुरका हर्कबहादुर सारु मगरको घर अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ। केही समयअघिसम्म सामान्य टहरोमा जीवन बिताउँदै आएका मगर परिवार अब सुरक्षित घरमा बस्ने तयारीमा छन्। यसअघि वडा नम्बर ६ गुरौचौरका शारीरिक रूपमा अपाङ्ग अमर कुमालका लागि निर्माण गरिएको घर हस्तान्तरण भइसकेको छ। नयाँ घर पाएपछि कुमाल परिवारको जीवनशैलीमा समेत सकारात्मक परिवर्तन आउन थालेको स्थानीयको भनाइ छ।

त्यसैगरी वडा नम्बर ७ को बुंगखहरे टोलमा मनबहादुर दर्जी र माया परियारका लागि पनि घर निर्माण भइरहेको छ। करिब दुई दशकदेखि सामान्य जस्तापाताले छाएको छाप्रोमा बस्दै आएका उनीहरू अहिले आफ्नै सुरक्षित घर बन्न थालेपछि उत्साहित छन्। घरको गारो तयार भइसकेको छ भने अब छानो हाल्ने काम बाँकी छ।

कालिका–३ मा मात्रै ६ वटा घर निर्माण भइरहेका छन्। नविकरण टोलका तीन परिवार र विजय टोलमा तीनवटा परिवारका लागि  घर निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ।

छाप्रोमा बस्दै आएका जीतवहादुर तामाङका लागि घर तयारी हुँदैछ । सामान्य छाप्रोमा गुजारा चलाउँदै आएका जीतवहादुर अहिले दंग परेका छन् ।

जीतवहादुर जस्तै सुकवहादुर भुजेल पनि मख्ख छन् । उनका श्रीमति सहित ४ जना परिवार सानो अस्थायी टहरामा गुजारा चलाउँदै आएका थिए । २०६५ सालदेखि तनहुँको देवघाटबाट बसाइँ सरेर आएका ती परिवारहरू वर्षौंदेखि काठले बारिएको अस्थायी टहरोमा बस्दै आएका थिए। अहिले भने उनीहरूका घरले आकार लिन थालेपछि परिवारमा खुसी थपिएको छ।

वडा नम्बर ३ को विजय टोलमा बमबहादुर तामाङका लागि पनि घर निर्माण भइरहेको छ भने वडा नम्बर ५ का विभिन्न टोलमा चारवटा विपन्न परिवारका लागि आवास निर्माण सुरु गरिएको छ। गढीमाई टोलका सुन्दर परियार, शुभकामना टोलकी एकल महिला सरिता मर्दनिया, अजम्बरी टोलका रुदल महतो तथा ब्रह्मबाबा टोलकी रुदली चौधरीका लागि घर निर्माणको काम अघि बढाइएको छ।

कालिका नगरपालिकाले ‘विपन्न परिवारका लागि मेयर आवास कार्यक्रम कार्यविधि–२०७६’ अनुसार लाभग्राही छनोट गरी घर निर्माण थालेको हो। घर निर्माणमा तीन पक्षको लागत साझेदारी रहेको छ। जसअनुसार लुमन्ती आवासका लागि सहयोग समूह ले ५५ प्रतिशत, नगरपालिकाले ३० प्रतिशत र लाभग्राही परिवारले १५ प्रतिशत लागत व्यहोर्ने व्यवस्था गरिएको छ।

दुई कोठे घर निर्माणका लागि करिब ३ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। जसमा लुमन्तीले २ लाख ५ हजार रुपैयाँ र नगरपालिकाले १ लाख १० हजार रुपैयाँ लगानी गर्नेछ।

लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक सिंहबहादुर वाईबा का अनुसार लाभग्राही परिवारले पनि आफ्नो पुरानो घरका पुनः प्रयोग गर्न मिल्ने सामग्री घर निर्माणमा प्रयोग गरेका छन्। कतिपय परिवारका पुराना काठ, जस्तापाता र फलामको मूल्यांकन गरी निर्माण कार्यमा उपयोग गरिएको उहाँले बताउनुभयो।

कार्यक्रमलाई प्रभावकारी बनाउन नगर उपप्रमुख विमला तामाङ सहित विभिन्न शाखाका प्रमुखहरूले नियमित अनुगमन गरिरहेका छन्। नगरप्रमुख विनोद रेग्मीका अनुसार नगर क्षेत्रमा अझै धेरै विपन्न परिवार सुरक्षित आवासबाट वञ्चित छन्। त्यसैले आगामी आर्थिक वर्षमा समेत यो कार्यक्रमलाई निरन्तरता दिने तयारी गरिएको छ।

– घर केवल चारवटा पर्खाल होइन, यो परिवारको सुरक्षा, सम्मान र भविष्यसँग जोडिएको विषय हो,- नगरप्रमुख रेग्मीले भन्नुभयो, “विपन्न नागरिकलाई सुरक्षित आवास दिन सके मात्रै समृद्ध समाज निर्माण सम्भव हुन्छ।” कालिका नगरपालिकाले थालेको यो अभियान अहिले  घर निर्माणको योजना मात्र बनेको छैन, यसले विपन्न परिवारको जीवनमा नयाँ भरोसा, आत्मसम्मान र सुरक्षित भविष्यको आधार तयार गरिरहेको छ।

—00–

Share:

सम्बन्धित समाचारहरु