मानवसेवा आश्रमसँग दशबुँदे सम्झौता, ‘सभ्य समाज निर्माणको अभियान’ सुरु

कालिका नगरपालिका सहयोगापेक्षी सडक आश्रीत मानवमुक्त घोषणा

 सन्तकुमार चौधरी- 

कालिका । मानवसेवा आश्रम सँग सहकार्य गर्दै कालिका नगरपालिका लाई सहयोगापेक्षी सडक आश्रीत मानवमुक्त नगरपालिकाको रुपमा घोषणा गरिएको छ।

मंगलबार आयोजित विशेष कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी र मानवसेवा आश्रमकी केन्द्रीय सदस्य निता केसी बीच सम्झौतापत्रमा हस्ताक्षर गर्दै घोषणा कार्यक्रम कार्यान्वयनका लागि औपचारिक सहकार्य सुरु गरिएको हो।

हेटौंडामा केन्द्रीय कार्यालय रहेको मानवसेवा आश्रमले सातै प्रदेशमा मानवता प्रवर्द्धन महाअभियान सञ्चालन गर्दै आएको छ। सोही अभियान अन्तर्गत २०८३ सालभित्र नेपाललाई सडकआश्रित सहयोगापेक्षी मानवमुक्त राष्ट्र बनाउने लक्ष्यसहित कालिका नगरपालिकासँग दशबुँदे सम्झौता गरिएको जनाइएको छ।

सम्झौतामा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन तथा मानसिक र शारीरिक रुपमा कमजोर अवस्थामा रहेका सडकआश्रित व्यक्तिहरुको उद्धार, उपचार, पालनपोषण तथा पारिवारिक पुनर्मिलनका लागि आवश्यक कार्यक्रम र बजेटलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ। नगर कार्यपालिकाको २०८२ साउन २८ गतेको निर्णयअनुसार घोषणा कार्यान्वयनका लागि सहकार्य अघि बढाइएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति चितवन का प्रमुख नारायण प्रसाद अधिकारी ले मानवीय अभियानमा अग्रसर बनेको भन्दै कालिका नगरपालिकाको प्रशंसा गर्नुभयो। उहाँले यस्तो अभियानले सभ्य र मानवीय समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सडकआश्रित नागरिकहरुको व्यवस्थापनमा उदाहरणीय काम गर्ने अवसर कालिकाले पाएको बताउनुभयो।

“मानिस रहरले सडकमा पुग्दैनन्, परिस्थितिले उनीहरुलाई त्यहाँ पुर्‍याएको हुन्छ,” अधिकारीले भन्नुभयो,- “त्यस्ता नागरिकप्रति समाजले सहानुभूति र जिम्मेवारीका साथ व्यवहार गर्न आवश्यक छ।”

कार्यक्रममा बोल्दै नगरप्रमुख विनोद रेग्मीले सडकआश्रित सहयोगापेक्षी मानवमुक्त अभियान कुनै एक व्यक्तिको मात्रै जिम्मेवारी नभएको स्पष्ट पार्नुभयो। उहाँले सबै राजनीतिक दल, सामाजिक संघसंस्था, कर्मचारी र नागरिक समाजको सहकार्यबिना अभियान सफल हुन नसक्ने बताउनुभयो। “यो हस्ताक्षर सामान्य होइन, हामीले ठूलो जिम्मेवारी लिएका छौं,” नगरप्रमुख रेग्मीले भन्नुभयो, – “अझै केही नागरिक सडकबाट उद्धार गर्न बाँकी छन्। सबैको साथ र सहकार्यले मात्रै अभियान सफल हुन्छ।”

नगर उपप्रमुख विमला तामाङ ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा मानवसेवा आश्रमकी केन्द्रीय सदस्य निता केसीले आश्रमका गतिविधि, सेवा र उपलब्धिबारे जानकारी गराउनुभएको थियो। घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवा तथा नगरपालिकाका कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम नगरप्रमुख विनोद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो।

–00–

Share:

सम्बन्धित समाचारहरु