काठमाडौं । नेपाल मेडिकल काउन्सिल ले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको लाइसेन्स खारेज गरेको छ। काउन्सिलले उनीहरूको नाम आफ्नो दर्ता कितावबाट हटाइएको जानकारी दिएको हो।
काउन्सिलले शुक्रबार सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २४ तथा नेपाल नागरिकता ऐन २०६३ अनुसार निर्णय गरिएको स्पष्ट पारेको छ।
नाम खारेज हुने चिकित्सकहरूमा हङकङ नागरिक डा. शर्मिला गुरुङ, अस्ट्रेलियन नागरिक डा. रोशन भुषाल, ब्रिटिस नागरिक डा. मोती गुरुङ, अस्ट्रेलियन नागरिक डा. देवराज रेग्मी र ब्रिटिस नागरिक डा. मेरिना गुरुङ रहेका छन्।
यस्तै अमेरिकी नागरिक डा. निरन्जनदेव पाण्डे, ब्रिटिस नागरिक डा. रोजन केसी, ब्रिटिस नागरिक डा. ममता गुरुङ, पोर्चुगाली नागरिक डा. राजीव हमाल, ब्रिटिस नागरिक डा. सलुजासिंह थारु, अमेरिकी नागरिक डा. सुजना केसी, ब्रिटिस नागरिक डा. जोस्ना शाही, अमेरिकी नागरिक डा. मनिपा हमाल, क्यानेडियन नागरिक डा. सुप्रिया शाक्य, क्यानेडियन नागरिक डा. इच्छा न्यौपाने, अमेरिकी नागरिक डा. दिपेन ढकाल र भारतीय नागरिक डा. तुपार सरवजना पनि सूचीमा समावेश छन्।
काउन्सिलका अनुसार विदेशी नागरिकता ग्रहण गरेपछि नेपालमा चिकित्सकीय अभ्यास गर्न पाउने कानुनी व्यवस्था नरहेकाले यस्तो निर्णय गरिएको हो।

–00–


