संगीता आचार्य-
रामपुर, चितवन। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम, रामपुरको आयोजनामा युवालाई लक्षित हाइब्रिड मकै बिउ उत्पादन तथा खेती प्रविधि सम्बन्धी सातदिने तालिम आजदेखि सुरु भएको छ।
कृषि क्षेत्रमा युवाको सहभागिता र व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० मा स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गरिएको हो। राष्ट्रिय मकैबाली विकास कार्यक्रम अन्तर्गत हाइब्रिड (उन्नत जात) मकैको बिउ उत्पादन तथा आधुनिक खेती प्रविधिमा आधारित तालिम प्रदान गरिँदैछ।
तालिमका संयोजक तथा वरिष्ठ वैज्ञानिक भिमनाथ अधिकारीका अनुसार हाल नेपालमा वार्षिक करिब २०० टन मात्र हाइब्रिड मकै बिउ उत्पादन भइरहेको छ भने करिब ३ हजार टन बिउ विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। “यो ठूलो अन्तरलाई कम गर्दै मकै उत्पादनमा आत्मनिर्भर बन्न हाइब्रिड प्रविधिलाई प्राथमिकता दिइएको हो,” उहाँले बताउनुभयो।

तालिममा ५० वर्षभन्दा कम उमेरका, आफ्नै कृषि फर्म वा कृषि व्यवसाय सञ्चालन गरिरहेका उद्यमी युवाहरूलाई मात्र छनोट गरिएको अधिकारीले जानकारी दिनुभयो। “तालिममा सिकेका सीप व्यवहारमा उतारून् र कृषि क्षेत्रलाई सुदृढ बनाऊन् भन्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि कृषि तथा वन विश्वविद्यालय, कृषि सङ्कायका डिन प्राध्यापक डा. अर्जुनकुमार श्रेष्ठले नेपालमा मकैको माग उच्च भए पनि उत्पादनले धान्न नसक्दा गत वर्ष मात्र करिब ४ लाख मेट्रिक टन मकै आयात गर्नुपरेको तथ्य प्रस्तुत गर्नुभयो। “यस अवस्थालाई सुधार गर्न विभिन्न हाइब्रिड जातको विकास र अनुसन्धानमा मकैबाली अनुसन्धान कार्यक्रम सक्रिय छ,” उहाँले बताउनुभयो।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक तीर्थराज रिजालले यो कार्यक्रम विगत चार वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको जानकारी दिँदै, “युवा लक्षित यस कार्यक्रममार्फत विदेश पलायन रोक्दै स्वदेशमै कृषि मार्फत सम्भावना खोज्ने वातावरण बनाउने हाम्रो उद्देश्य हो,” भन्नुभयो।
तालिममा सातै प्रदेशबाट छनोट भएका पाँच जना महिलासहित २० जना उद्यमी कृषकहरूको सहभागिता रहेको छ। तालिम सात दिनसम्म सञ्चालन हुनेछ।–00–


