काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुर ले आजदेखि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेकी छन्।
उपसभामुख ठाकुरले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर पदबहाली गर्दै कार्यकाल प्रारम्भ गरेकी हुन्। पदभार ग्रहणसँगै उनले संसद्को कार्य सञ्चालनलाई प्रभावकारी, निष्पक्ष र मर्यादित बनाउन आफू प्रतिबद्ध रहने बताएकी छन्।
पदबहालीपछि उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद अर्याल सँग पहिलो औपचारिक भेटवार्ता गरेकी थिइन्। सो अवसरमा सभामुख अर्यालले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। भेटमा संसद्को आगामी कार्यसूची, सदन सञ्चालन तथा समसामयिक विषयमा समेत छलफल भएको जनाइएको छ।
उपसभामुख ठाकुर यही चैत २७ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन प्रक्रियामार्फत उक्त पदमा निर्वाचित भएकी थिइन्। उनको निर्वाचनसँगै संसद्को नेतृत्व टोली पूर्ण भएको छ। राजनीतिक वृत्तमा ठाकुरको चयनलाई समावेशी प्रतिनिधित्वको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ। विशेषगरी महिला नेतृत्वको सशक्त उपस्थिति संसद्मा थप सुदृढ हुने अपेक्षा गरिएको छ।
उपसभामुखको जिम्मेवारीमा रहँदा उनले सदनको कार्यवाही सञ्चालनमा सभामुखलाई सहयोग गर्ने, संसद्को बैठक सञ्चालन गर्ने, तथा संसदीय प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।
यसैबीच, विभिन्न राजनीतिक दलका नेता तथा सरोकारवालाहरूले उपसभामुख ठाकुरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। संसद्को गरिमा, निष्पक्षता र प्रभावकारिता कायम राख्दै उनले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।–00—

