चितवन। चितवन र नवलपुरका थारू समुदायले आज धुमधामका साथ यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत आफन्त र पितृहरूको सम्झनामा मनाइने यो पर्व थारूहरूको मौलिक चाड मानिन्छ ।
पूर्वी चितवन, पश्चिम चितवन र माडी क्षेत्रमा थारू समुदायको बाक्लो बसोबास रहेकाले यहाँ विशेष रौनक देखिएको छ । थारू कल्याणकारी सभा चितवनका अध्यक्ष ललित चौधरीका अनुसार यो पर्व दुई दिनसम्म मनाइन्छ । औँसीको अघिल्लो दिनलाई मछुवारी भनिन्छ, जसमा खोलानाला, नदी, ताल वा पोखरीमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन छ ।
औँसीका दिन बिहानै पुरुषहरूले दाभी (सिरु) काटेर ल्याई करिब एक हात लामो कुचो बनाउने र त्यसलाई घर अगाडि गाईको गोबरले लिपपोत गरी पहुनी बेठोइ गर्ने परम्परा छ । पुगनीलाई फूलले सजाइन्छ र अगाडि ल्वाङ, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै सबै परिवारका सदस्यले नुहाएर कुशपानीले पितृलाई तर्पण दिने चलन छ ।
पुगनी अगाडि नयाँ वा सफा कपडा लगाएर बसेर रक्सी र पानीका थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । एक वर्षभित्र परिवारका सदस्यको मृत्यु भएमा आजकै दिन बोका काटी रगत चढाइन्छ । त्यसपछि मात्र खानपिन सुरु हुन्छ । पहिलोपटक छोरी, ज्वाइँ वा पाहुनालाई चौरासी व्यञ्जन खुवाउने परम्परा छ, जसलाई पितरी बेठोइ भनिन्छ । पाहुनालाई तेल लगाइ कपाल कोर्ने, फूल सिउरीदिने र पानी छम्केर शीतलता दिने चलन पनि छ, जसलाई पितृपित्राइन बिदाइ भनिन्छ ।
यस दिन घरमा जो कोही आए पनि पाहुना नै मानिन्छ र खुवाएरै पठाइन्छ । गाउँका मानिसहरू सामूहिक रूपमा भेला भई पिङ खेल्ने (बरहा झुलके) र युवाले ‘म्वार्हा’ गाड्ने चलन अझै जीवित छ । बेलुकी बालबालिका र युवाहरू समूहमा घर–घर घुम्दै यमोसा खान जाने र मौलिक थारू गीत गाउने गर्छन् । तर पछिल्लो समय ती परम्परागत गीत, संस्कार र चलन पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको थारू अगुवाहरू बताउँछन् ।
चितवन र नवलपरासीमा थारू जनसङ्ख्या करिब दुई लाख हाराहारीमा छ । यमोसा पर्वकै अवसरमा पूर्वी चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । थारू अगुवा कारी महतोका अनुसार यो पर्वका लागि विदेशमा रहेका धेरै थारूहरू समेत घर फर्किन्छन् ।
मौलिक सांस्कृतिक र धार्मिक महत्त्व बोकेको यमोसा पर्व ओझेल पर्न थालेकाले यसलाई संरक्षण र प्रवर्द्धन गर्न स्थानीय स्तरमै अभियान थालिएको थारू समुदायले जनाएको छ ।
यमोसा पर्वको अवसरमा चितवनका स्थानीय तहले एक दिन सार्वजनिक विदा दिँदै आएका छन् ।–0—


