काठमाडौं। थारु समुदायको सामाजिक, सांस्कृतिक तथा संस्थागत विकासलाई थप सुदृढ गर्ने उद्देश्यले थारु कल्याणकारिणी सभा (थाकस) ले काठमाडौं उपत्यकामा केन्द्रीय भवन निर्माणका लागि घर–जग्गा खरिद अभियान सुरु गरेको छ।
“थारु एकता हाम्रो सम्मान, थाकस भवन निर्माण हाम्रो अभियान” भन्ने मूल नारासहित अघि बढाइएको यस अभियानले थारु समुदायको छाता संस्थाका रूपमा रहेको सभाको केन्द्रीय कार्यालय स्थापनालाई लक्ष्य बनाएको थारु कल्याणकारिणी सभा केन्द्रीय सभापति प्रेमिलाल चौधरीले जानकारी दिनुभयो ।
वि.सं. २००५ सालमा स्थापना भएको थारु कल्याणकारिणी सभा विगत करिब आठ दशकदेखि थारु समुदायको हक–हित, पहिचान संरक्षण, सामाजिक न्याय, शिक्षा, संस्कृति र विकासका क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएको छ। देशका विभिन्न जिल्ला तथा विदेशसम्म संस्थाको सञ्जाल विस्तार भइसकेको छ।
हाल काठमाडौंमा केन्द्रीय कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएको अवस्थामा स्थायी कार्यालय भवनको आवश्यकता महसुस भएपछि घर–जग्गा खरिद अभियान सुरु गरिएको जनाइएको छ।
आर्थिक संकलन तथा दाता सम्मान व्यवस्था
केन्द्रीय भवन निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संघ–संस्था, कम्पनी तथा शुभेच्छुकहरूबाट नगद, घर, जग्गा वा जिन्सी सामग्रीका रूपमा सहयोग संकलन गरिनेछ।
रकमको परिमाणअनुसार दाताहरूलाई सम्मान गरिने व्यवस्था गरिएको छ।
-
रु. १ हजारदेखि रु. २५ हजारसम्म सहयोग गर्ने दाताको नाम सम्मानपत्रमा उल्लेख
-
रु. २५ हजारदेखि रु. ५ लाखसम्म सहयोग गर्ने दाताको नाम शिलालेखमा उल्लेख
-
रु. ५ लाखदेखि रु. १० लाखसम्म सहयोग गर्ने दातालाई नामकरणसहित सम्मान
-
रु. १० लाखदेखि रु. २५ लाखसम्म सहयोग गर्ने दाताको नामबाट कक्ष वा संरचना नामकरण
-
रु. २५ लाखदेखि रु. ५० लाखसम्म सहयोग गर्ने दातालाई विशेष सम्मान
-
रु. ५० लाखदेखि रु. १ करोडसम्म सहयोग गर्ने दाताको नाममा केन्द्रीय कार्यालय परिसरभित्र संरचना नामकरण
-
रु. १ करोडभन्दा बढी सहयोग गर्ने दाताको नामबाट थाकस केन्द्रीय कार्यालय भवन नै नामकरण गरिनेछ।
दाताबाट प्राप्त जग्गा, घर तथा जिन्सी सामग्रीको मूल्यांकन नेपाल सरकारको प्रचलित ऐन, नियम तथा कानुनअनुसार गरिने पनि सभाले जनाएको छ।
सहयोगका लागि अपिल
थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिले यो महाअभियान सफल बनाउन सरकारी तथा गैरसरकारी निकाय, उद्योगी–व्यवसायी, समाजसेवी, बुद्धिजीवी, महिला, युवा, विद्यार्थी तथा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोगका लागि अपिल गरेको छ।
सभाले केन्द्रीय भवन निर्माणले थारु समुदायको एकता, पहिचान र भावी पुस्ताका लागि स्थायी संस्थागत आधार निर्माण हुने विश्वास व्यक्त गरेको छ।




