नारायगढ, १२ असार । “कला धर्म र संस्कृतीको संरक्षणमा नारायणी पब्लिकको अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै भरतपुर ११ स्थित नारायणी ईङ्गलिस पब्लिक स्कुलमा असारे गित गायन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीहरूलाई किताबी ज्ञानले मात्र पर्याप्त हुँदैन , उनीहरूलाई कक्षा कोठामा मात्र सीमित राखेर ज्ञान दिनुभन्दा आफ्नो प्रकृति, संस्कृति एवम् सामाजिक मूल्य मान्यताको बोध गराउँदै समयसापेक्ष ढङ्गले व्यावहारिक ज्ञान प्रदान गर्नु उत्तम हुन्छ । यही विचारलाई आत्मसात गर्दै वुधबार विद्यालयमा कृषि र असार पन्ध्रको सांस्कृतिक महत्त्वको सापेक्षतामा दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरियो ।
उक्त कार्यक्रममा विद्यालयका प्राचार्य वेदराज न्यौपानेज्यूले कृषि र यसको महत्त्वका बारेमा प्रष्ट पार्दै व्यावहारिक ज्ञानले नै जीवनलाई श्रेष्ठता प्रदान गर्ने कुरामा जोड दिनुभयो । सोही क्रममा कक्षा ६ देखी ९ सम्मका विद्यार्थीहरूका लागि असारे गीत गायन प्रतियोगिताको आयोजना गरिएको थियो । त्यसैगरी नर्सरी, केजी, एक र दुई कक्षाका विद्यार्थीहरूलाई धानको विउ कसरी राख्ने र रोपाई कसरी गर्र्ने भन्ने कार्यक्रम पनि गर्न लगेको कुरा बताउनुभयो ।
त्यस्तै यस्ता खालका कार्यक्रमले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरी उनीहरूको जीवनलाई सही मार्गनिर्देश गर्ने गरेको प्राथमिक तह प्रमुख एवम् कार्यक्रम संयोजक दिवाकर पौड्यालले जानकारी गराउनुभयो ।


