भरतपुर अस्पतमा पित्तथैलीको अपरेशन गर्न ९ महिनासम्म कुर्नुपर्ने बाध्यता अझै हटेन

भरतपुर, २० माघ । भरतपुर अस्पतालमा पूर्वाधार निर्माण थपिने क्रम बढ्दै गएपनि सेवाग्राहीलाई प्रभावकारी सेवा अझै दिन सकेको छैन । विरामीले शल्यक्रियाका लागि ६ देखि ९ महिना समय कुर्नुपर्ने बाध्यता छ । भौतिक पूर्वाधार निर्माणको हिसावले अस्पताल अब्बल बन्दै गएको छ । सुविधायुक्त भवनवाट सेवा दिइरहेका छन् । अन्य थप सुविधायूक्त पक्की भवन निर्माणाधिन अवस्थामा छन् । तर अस्पतालले सम्बन्धित विद्यामा दक्ष चिकित्सकको अभावलाई पूर्तीगर्न सकेन । जसका कारण विरामीहरु सीमित चिकित्सककै भरपर्नुपर्ने अवस्था छ । बिरामीको अनुपातमा शल्यक्रिया कक्ष र बिरामीको अनुपातमा शल्यक्रिया कक्ष र (एनेस्थेसियोलोजिस्ट)बेहोस बनाउने डाक्टर कम हुँदा समयमै शल्यक्रिया गर्न नसकेको अस्पतालले जनाएको छ।

अप्रेशनका लागि महिनौं कुर्ने बिरामीहरू प्रायः पित्तथैली, हर्नियाँको समस्या भएकाहरू छन्। सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा अहिले शल्यक्रिया कक्ष ७ वटा र सरकारी दरबन्दीका एनेस्थेसियोलोजिस्ट एक जनामात्रै छन्।

अस्पताल विकास समितिका ३ र छात्रवृत्ति करारका ३ जना एनेस्थेसियोलोजिस्ट यहाँ कार्यरत छन्। सातवटा शल्यक्रिया कक्षहरूमा आकस्मिक शल्यक्रिया चौबिसै घण्टा र बारअनुसार विभिन्न विभागका शल्यक्रियाहरू हुन्छन्। त्यसका लागि आवश्यक सर्जनहरूको भने कमी छैन।

‘अहिले विभिन्न विभागका गरेर ४० जना सर्जनहरू हुनुहुन्छ तर बेहोस बनाउने डाक्टर ६ जनामात्रै र अप्रेशन थिएटर पनि कम हुँदा बिरामीले समयमै सेवा पाउन सकेका छैनन्,’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले भने।

स्वास्थ्य बीमाको सुविधा रहेका कारण बिरामीको चाप भने बढ्दोक्रममा रहेको उनले बताए। बिरामीको संख्या बढ्दै जाने तर त्यसअनुरुप जनशक्ति र संरचना नुहँदा समयमा सेवा दिन नसकेको पौडेलले बताए। उनले शल्यक्रियाका लागि बिरामीले ९ महिनासम्म पालो कुर्नु परेको बताए।

२०७९ सालको साउन १ गतेदेखि पुस मासन्तसम्ममा भरतपुर अस्पतालमा ७ हजार ४६५ वटा शल्यक्रियाहरू भएको सूचना अधिकारी पौडेलले जानकारी दिए। यसमध्ये ४ हजार २१ मेजर अप्रेशन, २२२ मध्यम, ४८८ सामान्य, २ हजार ५८१ सुत्केरीको सामान्य, १५८ जना सुत्केरीको जटिल अप्रेशन गरिएको पौडेलले बताए।

यी मध्ये ६५ देखि ७० प्रतिशतले बीमामार्फत शल्यक्रिया गरेका हुन्।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु