बालकल्याण आधारभूत विद्यालयको ५४‍औँ वार्षिकोत्सव उत्साहपूर्ण वातावरणमा सम्पन्न

-रेशम सापकोटा
माडी । माडी नगरपालिका–७ जगन्नाथपुरीमा रहेकाे बालकल्याण आधारभूत विद्यालयले आफ्नो ५४‍औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। विद्यालयको वार्षिक प्रगति, अभिभावक–विद्यालय सहकार्य र शैक्षिक गुणस्तरलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा अभिभावक, स्थानीय सरोकारवाला, विद्यार्थी तथा शिक्षकहरूको व्यापक सहभागिता रहेको विद्यालयले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकालले विद्यालयले समुदायमा स्थापित गरेको शैक्षिक विश्वास र निरन्तर उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा शिक्षाको गुणस्तर उकास्न आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरिधारी सुवेदीले गर्नुभएको थियो। उहाँले विद्यालयले ५४ वर्षको यात्रामा निरन्तर सुधार र सुदृढीकरणलाई प्राथमिकता दिंदै विद्यार्थी–केन्द्रित शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको बताए। सुवेदीका अनुसार अनुशासन, व्यवहार र सिकाइ गुणस्तरतर्फ विद्यालय निरन्तर सुदृढ रूपमा अघि बढिरहेको छ।

सो अवसरमा शैक्षिक उपलब्धि, अनुशासन तथा सह–पाठ्यक्रम गतिविधिमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, अध्यापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने शिक्षक तथा विद्यालयको प्रवर्द्धनमा निरन्तर साथ दिने अभिभावकहरूलाई पनि विशेष सम्मान गरिएको थियो।

कार्यक्रमका दौरान विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत, कविता, नाटकलगायत विभिन्न प्रस्तुति दिए। बालबालिकाका प्रतिभा र सिर्जनशीलताले समारोहलाई झनै आकर्षक बनाएको अभिभावकहरूले प्रतिक्रिया दिएका थिए।

स्थानीय समुदायको सक्रिय सहयोग, अभिभावकहरूको निरन्तर साथ र विद्यालय व्यवस्थापनको योजनाबद्ध प्रयासका कारण यस वर्षको वार्षिकोत्सव तथा अभिभावक दिवस सफल रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ।
कार्यक्रमको स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज सापकोटाले प्रस्तुत गर्नुभएको थियो।–00–

Share:

सम्बन्धित समाचारहरु