काठमाडौं: त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल डिस्चार्ज गर्न नमिल्ने अस्पताल प्रशासनले जनाएको छ। प्रहरीले बिहीबार बिहान परिवारको जिम्मा लगाए पनि स्वास्थ्य अवस्थाका कारण उनी अझै केही दिन अस्पतालमै रहने भएका हुन्।
अस्पतालका सहप्रवक्ता कालीबहादुर रोस्याराका अनुसार ओलीको पित्तथैलीमा समस्या देखिनुका साथै पिसाबमा समेत संक्रमण पाइएको छ। “उहाँको स्वास्थ्यमा पूर्ण सुधार भइसकेको छैन, त्यसैले अझै केही दिन चिकित्सकको निगरानीमा राख्नुपर्ने देखिएको छ,” रोस्याराले भने। चैत १४ गते प्रहरी नियन्त्रणमा रहेकै बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शिक्षण अस्पताल भर्ना गरिएको थियो।–00–


