‘सिधै गोली चलाउने आदेश दिएको थिएन’ : घटनाबारे प्रशासन प्रमुखको बयान

काठमाडौं। प्रदर्शनका क्रममा सिधै गोली चलाउने आदेश आफूले नदिएको तर तनावपूर्ण अवस्थामा प्रहरीको रेडियो सेटबाट ‘फायर खोल्नु’ भन्ने आदेश सुनेको एक उच्च प्रशासनिक अधिकारीले बयान दिएका छन्। उनका अनुसार उनले अन्तिम विकल्पका रूपमा मात्र घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउन मौखिक निर्देशन दिएका थिए।

बयानअनुसार भदौ २३ गते बिहान ७ बजेदेखि जिल्ला सुरक्षा समितिको कमान्ड सेन्टर आफ्नै कार्यकक्षमा स्थापना गरी अवस्था अनुगमन भइरहेको थियो। बिहान करिब १०ः१५ बजेसम्म स्थिति सामान्य थियो। माइतीघरबाट सुरु भएको प्रदर्शन बिजुलीबजार पुल हुँदै एभरेष्ट होटल अगाडि पुगेपछि अवस्था नियन्त्रणबाहिर जान सक्ने देखिएको भन्दै गृहसचिवलाई जानकारी गराइएको थियो। त्यहाँबाट न्यूनतम बल प्रयोग गर्दै स्थिति नियन्त्रण गर्न निर्देशन प्राप्त भएको उनले बताएका छन्।

प्रदर्शनकारीहरू संघीय संसद् भवनतर्फ बढ्न थालेपछि कफ्र्यू लगाउनुपर्ने अवस्था आएको जानकारी गृहमन्त्री, मुख्य सचिव र गृहसचिवलाई दिइएको थियो। त्यसपछि जिल्ला सुरक्षा समितिको सिफारिसमा दिउँसो १२ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको बयानमा उल्लेख छ।

नयाँ बानेश्वर क्षेत्रमा तनाव बढेपछि सशस्त्र प्रहरी उपरीक्षकलाई पनि त्यहाँ पठाइएको थियो। त्यसैबीच संसद् भवन वरिपरि प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गर्दै विभिन्न गेटबाट भित्र प्रवेश गरेको सूचना प्राप्त भएको उनले बताएका छन्। हिंसा फैलिँदै जाँदा नागरिकको ज्यान तथा सार्वजनिक–निजी सम्पत्तिमा जोखिम बढेकाले अन्तिम उपायका रूपमा कर्फ्यु जारी गरिएको जनाइएको छ।

सुरक्षाकर्मीलाई धैर्य नगुमाउन, न्यूनतम बल प्रयोग गर्न र मानवअधिकारको ख्याल गर्न निरन्तर निर्देशन दिइएको उनले बताएका छन्। आफूले सिधै गोली चलाउने आदेश नदिए पनि तनावपूर्ण अवस्थामै प्रहरी महानिरीक्षक र काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुखले रेडियोमार्फत आवश्यक परे फायर खोल्न निर्देशन दिएको सुनेको दाबी उनले गरेका छन्।

प्रदर्शनका क्रममा आक्रमणकारीहरू हेलमेट लगाएर ढुंगा, इँटा, ह्यामर, रड लगायत सामग्री लिएर सुरक्षाकर्मीमाथि आक्रामक रूपमा जाइलागेको रिपोर्ट प्राप्त भएको बयानमा उल्लेख छ। संसद् भवनभित्र पस्ने प्रयास भएपछि त्यहाँ रहेका सांसद, कर्मचारी र संरचनाको सुरक्षाका लागि परिसरभित्र मात्र गोली चलेको जानकारी आफूले पाएको उनले बताएका छन्।

यसैबीच, घटनाका क्रममा दिउँसो करिब २ः१५ बजे संसद् भवन अगाडि एक जना प्रदर्शनकारीको मृत्यु भएको जानकारी आफूले पाएको पनि बयानमा उल्लेख छ। कफ्र्यू कार्यान्वयनका लागि नेपाली सेनाको सहयोग मागिएको भए पनि अवरोधका कारण सेना समयमै संसद् परिसर पुग्न नसकेको जनाइएको छ।

घटनापछि राति जिल्ला सुरक्षा समितिको बैठक बसेर थप सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरिएको थियो। त्यसै राति १२ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू लगाउने र सम्पत्ति सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको थियो। भदौ २४ गते बिहान पुनः बैठक बसेर बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु जारी गरिएको थियो।

बयानमा उनले घटनापछि सामाजिक सञ्जालमा आफ्नो मृत्यु भएको अफवाह फैलाइएको र ज्यान मार्ने धम्कीसमेत आएको बताएका छन्। त्यसपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै उनी नेपाली सेनाको नरसिंहदल गणमा पुगेका थिए।

प्रधानमन्त्रीको राजीनामापछि कार्यकारी नेतृत्वमा देखिएको रिक्तताले जनतामा थप अन्योल र आक्रोश बढेको उनले उल्लेख गरेका छन्। कर्फ्यु हुँदाहुँदै पनि विभिन्न स्थानमा आगजनी, लुटपाट र सरकारी तथा निजी संरचनामाथि आक्रमण भएको उनले बताएका छन्।

साथै सुरक्षाकर्मीको थकान, उपकरणको कमी र लगातारको ड्युटीले चुनौती थपिएको उल्लेख गर्दै उनले कारागार सुरक्षामा पनि समस्या देखिएको बताएका छन्। उनका अनुसार भदौ २४ गते डिल्लीबजार कारागारबाट २० जना र केन्द्रीय कारागार सुन्धाराबाट तीन हजार पाँच सयभन्दा बढी कैदी भाग्ने अवस्था सिर्जना भएको थियो।

Share:

सम्बन्धित समाचारहरु