काठमाडौं । गृह मन्त्रालय ले बिहीबार (फागुन २१) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बुधबार बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापन तथा अन्य व्यवस्थापकीय पक्षबारे समीक्षा गर्दै तयारी सकिएको जानकारी दिइएको हो।
राजकुमार श्रेष्ठ को अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका उच्च अधिकारीसहित देशभरका प्रमुख जिल्ला अधिकारी सहभागी थिए। बैठकले सबै जिल्लाको निर्वाचन तयारी, सुरक्षा अवस्था र केन्द्र–जिल्ला समन्वयबारे विस्तृत जानकारी लिएको जनाएको छ।
मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार बैठकमा निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन अपनाइने सतर्कता, संवेदनशील क्षेत्रको अवस्था तथा आवश्यक रणनीतिबारे छलफल गरिएको थियो। सबै जिल्लाबाट निर्वाचन सामग्री मतदानस्थलमा पुगिसकेको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको उनले बताइन्।
गृहसचिव श्रेष्ठले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई चुस्त र प्रभावकारी रूपमा परिचालन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।–000–


