नेपाल प्रहरीको ३१ औं महानिरीक्षक (आईजी)मा दीपक थापा नियुक्त

काठमाडौं, ४ चैत्र । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजी नियुक्त गर्ने निर्णय गरेको हो । ३० औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अवकाश हुँदैछन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत एआईजी थापाले भोलि चैत ५ बाट कार्यभार सम्हाल्दैछन् ।

भोलि कार्यालय समयको शुरुमै गृह सचिव गोकर्णमणि दुवाडीबाट दर्ज्यानी चिह्न (फुली) लगाएपछि उनले महानिरीक्षकको कार्यभार सम्हाल्ने केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले बताए । यद्यपि नेपाल प्रहरी प्रधान कार्यालयमा निवृत्त हुन लागेका आईजी कुँवरसहितका उच्च अधिकृतको अहिले चलिरहेको बिदाई समारोहमै कुँवरले थापालाई प्रहरी प्रमुखको जिम्मेवारी (चार्ज) हस्तान्तरण गर्दैछन् ।

थापाले कार्यभार सम्हाल्ने क्रममा भोलि बिहान १० बजे उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका इन्चार्जको उपस्थिति अनिवार्य गरिएको छ ।

२०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन शुरु गरेका थापा भक्तपुर जिल्लाका बासिन्दा हुन् । भक्तपुरबाट प्रहरीको आईजीपी हुने थापा दोस्रो व्यक्ति हुन् । यसअघि सोही जिल्लाबाट शैलेश थापा क्षेत्रीले आईजीपीको जिम्मेवारी बहन गरिसकेका छन् ।

थापा २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा जन्मिएका हुन् । उनले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।

डीएसपी र एसपी दर्जामा उनले जिल्ला प्रहरी कार्यालय रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको प्रहरी प्रमुखका रुपमा जिम्मेवारी बहन गरिसकेका छन् । बागमती प्रदेश प्रहरी, उपत्यका प्रहरी कार्यालयको जिम्मवारी सम्हालिसकेका उनले प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंको कार्यालय प्रमुखको अनुभवसमेत हासिल गरेका छन् ।—00–

Share:

सम्बन्धित समाचारहरु