चितवन । भरतपुर महानगरपालिकाको चारतले प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । इन्टेरियरको काम बाँकी रहेकै अवस्थामा महानगरले चारमध्ये दुई तला मात्रै तयार पारेर शुक्रबार एक समारोहका बीच भवन उद्घाटन गर्ने तयारी गरेको छ ।
बाहिरबाट हेर्दा भव्य ‘सिंहदरबार’ जस्तो देखिने यो प्रशासकीय भवन ५३ करोड ३२ लाख ६४ हजार रुपैयाँ लागतमा निर्माण गरिएको हो । महानगरका शहरी पूर्वाधार विकास महाशाखा प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार सम्झौता भएको साढे दुई वर्षभित्र भवन निर्माण अन्तिम चरणमा पुगेको हो ।
संघ, प्रदेश र महानगर—तीनै तहको सरकारको बजेटबाट निर्माण गरिएको भवनको सम्झौता २०७९ साउन १८ गते भएको थियो । निर्माण सम्पन्न गर्ने म्याद आगामी माघ १८ गतेसम्म रहेको आचार्यले जानकारी दिए ।
भवनको उद्घाटन शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको छ । चारतले भवनमध्ये दुई तला मात्रै सञ्चालनका लागि तयारी अवस्थामा रहेको र बाँकी तलामा टायल तथा मार्बलको काम सकिए पनि फर्निसिङको काम बाँकी रहेको इन्जिनियर आचार्यले बताए । बाँकी कामका लागि पुनः टेन्डर आह्वान गर्नुपर्ने उनले जानकारी दिए ।
क्लासिकल डिजाइनमा निर्माण गरिएको भवनमा दुई वटा ठूला सभाहल, आठ वटा बैठक कक्ष र १ सय ५८ वटा कार्यकक्ष रहेका छन् । कुल सात कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको भवनमा एकवटा सिङ्गल बेसमेन्ट समेत रहेको छ ।
बेसमेन्टमा ५० वटा गाडी र १ सय ५० वटा मोटरसाइकल पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ । भवनमा दुईवटा लिफ्ट, दुबैपट्टि आकस्मिक भर्याङ तथा अपाङ्गता मैत्री संरचना निर्माण गरिएको आचार्यले बताए ।
सबै महाशाखाबाट सेवा प्रवाह गर्न मिल्ने गरी डिजाइन गरिएको भवनमा नागरिक कक्ष, पुस्तकालय र स्तनपान कक्ष समेत रहने व्यवस्था गरिएको छ । सेन्ट्रल एसी जडान गरिएको अत्याधुनिक भवनमा भुइँतलामा नगरप्रमुख र पहिलो तलामा उपप्रमुखको कार्यकक्ष रहनेछन् ।
भवनको सम्पूर्ण निर्माण कार्य भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न हुने इन्जिनियर आचार्यले जानकारी दिएका छन् ।


