भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर समितिले भरतपुर महानगरपालिकाले पूर्ण रूपमा निर्माण सम्पन्न नभएको प्रशासनिक भवनको उद्घाटन गर्न लागेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा निर्माण कार्य अधुरो अवस्थामा रहेको भवनको उद्घाटन गर्नु विकासको प्रतीक नभई राजनीतिक स्वार्थपूर्तिका लागि गरिएको गैर–जिम्मेवार प्रयास भएको उल्लेख गरिएको छ । अधुरो संरचनालाई उद्घाटन गरेर विकास भएको सन्देश दिनु गलत प्रवृत्ति भएको र यसले जनतालाई भ्रममा पार्ने र विकासको मर्ममाथि प्रहार गर्ने विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले कुनै पनि सार्वजनिक भवन उद्घाटन गर्नु अघि त्यसको संरचना पूर्ण रूपमा सुरक्षित, प्रयोगयोग्य र सञ्चालनका लागि तयार हुनुपर्ने स्पष्ट पारेको छ । चुनावी वा राजनीतिक लाभका लागि अधुरो संरचनालाई उद्घाटन गर्नु विकास विरोधी कार्य भएको पार्टीको ठहर छ ।
विज्ञप्तिमा भनिएको छ, भवन अझै अधुरो अवस्थामा हुँदा उद्घाटन समारोहका लागि खर्च गरिने रकम नागरिकको करको दुरुपयोग हो । त्यस्तो खर्च भवनको बाँकी निर्माण कार्य छिटो सम्पन्न गर्न प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । संरचना पूरा नगरी ‘सम्पन्न’ भएको भ्रम सिर्जना गर्नु भरतपुरवासी नागरिकप्रति अपमान भएको र विकास देखाउने नाममा अधुरो कामलाई उपलब्धि झैँ प्रस्तुत गर्ने प्रवृत्तिको रास्वपाले विरोध गरेको छ ।
यस सन्दर्भमा रास्वपा भरतपुर समितिले महानगर नेतृत्वसमक्ष शुक्रबार तय गरिएको उक्त उद्घाटन कार्यक्रम तत्काल रोक्न माग गरेको छ । भवन निर्माण कार्य पूर्ण रूपमा सम्पन्न गरी आवश्यक प्राविधिक परीक्षण र मापदण्ड पूरा भएपछि मात्र विधिवत रूपमा सञ्चालनमा ल्याउनुपर्ने पार्टीको स्पष्ट माग रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा रास्वपा भरतपुर समितिकी सभापति सीता ज्ञवालीको हस्ताक्षर रहेको छ ।

–00–


