पहिरोले मुग्लिन–नागढुंगा सडक अवरुद्ध, चितवन प्रहरीले सवारी साधन सुरक्षित ठाउँमा रोक्न थाल्यो

चितवन, असोज १८ — लगातार वर्षाका कारण मुग्लिन–नागढुंगा सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएपछि चितवन प्रहरीले सवारी साधनहरूलाई सुरक्षित स्थानमा रोक्न थालेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रविन्द्र खनालका अनुसार काठमाडौंतर्फ जाँदै गरेका सवारी साधनहरूलाई फिस्लिङ, मुग्लिन, जुगेडी, रामनगर, बसेनी, पोखरा बसपार्क र नारायणघाट बसपार्क लगायत स्थानहरूमा रोकिएको छ।

खनालले आवश्यकताका आधारमा रत्ननगरको शान्ति चोक, खैरहनीको चौविसकोठी र राप्तीको भण्डारा क्षेत्रमा पनि सवारी रोक्ने तयारी गरिएको बताए।
उनका अनुसार, “लगातारको वर्षाले जोखिम बढ्दो छ। हामी सकेसम्म सवारी साधनहरूलाई सुरक्षित ठाउँमा रोक लगाउँदैछौं। अवस्था हेरेर मात्र यात्रा गर्न अनुरोध गर्दछौं,” भने।

प्रहरीका अनुसार पोखरातर्फ जाने सवारी साधनहरूलाई भने परिस्थितिअनुसार गन्तव्यतर्फ जान दिइएको छ। बिहान केही समय नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध भएपनि अहिले एकतर्फी आवागमन भइरहेको छ। तर, तुईन खोलामा ढुंगा खसिरहेकाले ठूलो पहिरोको जोखिम अझै कायमै रहेको जनाइएको छ।

चितवनमा गएरातिदेखि निरन्तर वर्षा भइरहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसाधारणलाई आवश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ।–00—

Share:

सम्बन्धित समाचारहरु