गैँडाकोट, ३० पुस । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवको बुधबार एकैदिन १० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।
महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार पुस २५ गतेदेखि सुरु भएको महोत्सवप्रति दर्शकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ। उनले ओपेरा हाउस, जलपरी तथा मुस्ताङको चौरीजस्ता आकर्षणहरूले दर्शकको मन खिचेको बताए। साथै महोत्सवस्थल नजिकै नारायणी नदीमा नेपालकै पहिलो क्रुजशिपसमेत राखिएको छ।

बुधबार आयोजित सांस्कृतिक कार्यक्रममा चर्चित गायिका प्रिती आलेसहित विभिन्न कलाकारहरूले प्रस्तुति दिएका थिए। सांस्कृतिक उपसमिति संयोजक किशोर लम्सालका अनुसार प्रिती आलेले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेकी थिइन्। सोही दिन भजन प्रतियोगितासमेत सञ्चालन गरिएको थियो। स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भजन प्रतियोगिता आयोजना गरिएको लम्सालले जानकारी दिए।

महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत माघ १ गते बिहीबार माघेसङ्क्रान्तिको अवसरमा चर्चित गायक शिव परियारसहित रितु कँडेल, रितु थापा र कुशल बेलसासेले प्रस्तुति दिने कार्यक्रम रहेको छ। बिहीबारको कार्यक्रम कलाकार तथा प्रस्तोता दीपक खड्काले सञ्चालन गर्नेछन्।
स्थानीय कृषि उत्पादन तथा घरेलु वस्तुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार महोत्सव अवधिभर करिब दुई लाख दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ।

महोत्सव अवलोकनका लागि सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ टिकटको व्यवस्था गरिएको छ। आयोजक जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटले ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग तथा शैक्षिक संस्थाबाट संस्थागत रूपमा सहभागी विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ।–00–


