चिया बगानहरुमा ‘लुपर’ नामक कीराको प्रकोप

झापा, ३ साउन ।

हल्दिबारी गाउँपालिकाको चिया बगानहरुमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको छ । हरियो पत्ती उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरुले यसबाट ठूलो क्षति व्यहोर्नुपरेको छ ।

झापाको मध्यभागमा रहेको हल्दिबारी गाउँपालिकाको पाँचवटा वडाको लगभग एक हजार पाँच सय बिघा क्षेत्रफलमा फैलिएको चिया बगानमा ‘लुपर’ कीराको प्रकोप फैलिएको पालिकाका कृषि शाखाका प्रमुख छविलाल गुरुङले बताए ।

“किसानहरुले किरा फैलिएको जानकारी गराउनासाथ बगानको अनुगमन गरेका छौँ”, उनले भने, “बगानमा क्षति पुगेको पाइएको छ ।”

चिया किसान गोपाल गिरीले झापाको हल्दिबारीमा मात्र यो रोगको प्रकोप देखापरेको बताए । यसअघि चियाको बोटमा ‘रेड स्पाइडर’ नामक कीराको प्रकोप देखापर्ने गरेको थियो । ‘लुपर’का कारण हल्दिबारीका चिया बगान पहेलिएर सुक्न थालेको उनको भनाइ छ ।

‘लुपर’ एक प्रकारको झुसिल कीरा वा फौजी कीरा जस्तै पात र मुना खाने कीरा हो । यसलाई ‘लुपर क्याटरपिलर’ वा ‘टि लुपर’ भनेर चिनिन्छ । यसको माउ पुतली हुन्छ । पातमा पारेका असंख्य अण्डाबाट लार्भा निस्किएर चियाको पात खाने गर्छ ।

किसान नवीन मैनालीले वैशाखदेखि सुरु भएको ‘लुपर’ को प्रकोप साउन लागिसक्दा नियन्त्रण नभएको बताए । रासस

Share:

सम्बन्धित समाचारहरु