त्रिशूली किनारमा ‘गणपति डिलक्स’ बस फेला परेको पुष्टि

चितवन । मंगलबार (पुस २९) त्रिशूली नदी किनारमा ‘गणपति डिलक्स’ लेखिएको बस फेला परेको पुष्टि भएको छ । तनहुँको आबुखैरेनी गाउँपालिका–५ द्वोन्द्राङ बेसी नजिक नदी किनारमा बालुवाले पुरिएको अवस्थामा सो बसका पार्टपुर्जा भेटिएपछि खोजी अभियान सञ्चालन गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा टोलीले खोजी गर्दै जाँदा ‘गणपति डिलक्स’ लेखिएको बस फेला पारेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उक्त बस काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स हो । यो बस २०८१ असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो । सोही दिन वीरगञ्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस पनि सोही स्थानबाट त्रिशूलीमा खसेको थियो ।

गणपति डिलक्स बसमा सवार ३१ जनामध्ये तीन जनाले हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए । तीमध्ये १४ जनाको शव फेला परिसकेको छ भने बाँकी अझै बेपत्ता छन् । दुई बसमा सवार जम्मा ६२ जनामध्ये ११ जनाको शव फेला परेको, तीन जना घाइते भएका र ५१ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिएका छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु