कालिका, २६ असार । कालिका नगरपालिकाको बुधवार सम्पन्नन आर्थिक वर्ष २०८०/८१ को तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नगरबासीले गुनासो भन्दा सुझाव बढी दिएका छन् । एकवर्षको अवधिमा नगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे समीक्षागर्दै नगरबासीको गुनासो तथा सुझाव संकलनका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।
कालिका वडा नं. २ स्थित महिला संजालको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नगरबासीहरुले गुनासो भन्दा सुझावबढी थिए । विकास निर्माणसँगै पूर्वाधार निर्माणका योजना बनाउँदा सरोकारवालाहरुसँग राय सुझा लिएर मात्रै योजनाहरु बनाउन सुझाव दिए । कालिका वडा नं. ७ लाहुरे चोकका टेकवहादुर बस्नेतले खाद्यन्नका सामग्रीदेखि दैनिक उपभोग गरिने उत्पादनको गुणस्तर परीक्षणका लागि चासो दिन पालिकालाई सुझाव दिए ।
मह उत्पादनमा कालिका नगरपालिकाले विशेष अनुदान दिएर प्रोत्साहन गरेको भएपनि मह उत्पादन बारे विस्तृत जानकारी दिन नसकेकाले सेवाग्राही ढुक्कसँग महखान सक्ने अवस्था छैन । त्यसका लागि पालिकाले पहलकदमी लिन सके महले राम्रो स्थान पाउने भन्दै त्यसतर्फ ध्यान दिन उनले सुझाव दिए । बेला बेला स्थानीय बजारहरुको अनुगमनगर्न समेत उनले सुझाव दिए ।
यस्तै कालिका वडा नं. ३ का हिरामणी पोख्रेलले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न एकवडा एक प्राविधिक कार्यक्रमलाई जोड दिन सुझाव दिए । उनले पशुपालनका लागि गोठसुधारसँगै भकारो सुधार कार्यक्रमलाई पनि प्राथमिकता दिन आग्रह गरे । स्थानीय स्तरमै माटो परीक्षणको सुविधा दिनेगरी अगाडी बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । उत्पादनको नाउँमा मनलाग्दी तरिकाले भइरहेको विषादी प्रयोगको न्यूनिकरणमा विशेष ध्यान दिन सुझाव दिए ।
कार्यक्रममा शमीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले शैक्षिक गुणस्तरका लागि प्रधानाध्यापकहरुसँगको नियमित बैठकका लागि सझुाव दिए । अघिल्लो वर्षहरुमा नियमित बैठक बस्दै आएपनि केही समययता नगरक्षेत्रभित्रका विद्यालयहरुका प्रधानाध्यापकहरुको नियमित बैठक बसेको छैन । यस्तै एसइई परीक्षाको नजिताको विषयमा समीक्षात्मक बैठक बस्नुपर्ने सुझाव दिए । विद्यालयहरुको अनगुमनलाई तीब्र बनाई आवश्यताका आधारमा विद्यालयहरुमा शिक्षक, कर्मचारीको व्यवस्थापनमा ध्यानदिन सके गुणस्तर बृद्धिहुने विश्वास व्यक्त गरे । उनले मेयर आइसकेपछि शैक्षिक क्षेत्रमा धेरै सुधार भएपनि त्यसको प्रचार प्रशार नभएको बताए ।
कार्यक्रममा वीमा अभिकर्ता सुमित्रा महतोले विपन्न स्वास्थ्य वीमा कार्यक्रम यो आर्थिक वर्ष २०८१÷०८२ मा निरन्तरता पाउँँछ कि पाउँदैन भन्ने जिज्ञासा राखिन । आर्थिक वर्ष २०८०/०८१ मा विपन्न समुदायको पालिकाले निशुल्क स्वास्थ्य वीमा गरेको थियो । वीमा अभिकर्ता भएको नाताले विपन्न समुदाले यो पटक हाम्रो वीमा नविकरण पालिकाले गर्छ या गर्दैन भन्ने जिज्ञासा राख्दै आएका छन सुमित्राले भनिन – सिमान्तकृत समुदायसँगै अन्य जातजातिमा पनि जो विपन्न छ उनिहरुको अवस्था हेरेर स्वास्थ्य वीमा कार्यक्रममा जोड्न सके यसले वास्तविक विपन्न परिवारले राहत पाउने सुझाव दिइन ।
नागरिकको गुनासो र सुझावलाई संवोधन गर्दै नगर प्रमुख विनोद रेग्मीले विकास पूर्वाधार निर्माणसँगै आय आर्जनका विषयमा आफुहरु गम्भीर भएर लागेको बताए । पशुपालन, कृषिलाई प्राथमिकतामा राखेका छौं उनले थपे – यहाँहरुको सुझावलाई सम्पतिको रुपमा लिन्छौं ।
सधै जवाफदेही हुने संस्कारको विकास भएको छ । वडा अध्यक्षदेखि मेयर, उपमेयर कर्मचारी सबैसँग जतिबेलापनि प्रश्न, जिज्ञासा राख्न सकिने वातावरण पालिकामा बनेको छ मेयर रेग्मीले भने । नगरबासीको मुहारमा सधै खुशीयाली बनाउन सकिन्छ भन्ने उद्देश्यले हामी सक्रिय भएर लागिरहेका छौं । कहिले काही कामगर्दै जाँदा सानातिना समस्याहरु आउँछन् । हामीबाटपनि कम्जोरी हुन्छ त्यसलाई अतिरन्जित बनाई सामाजिक संजालमा काल्पनिक कथा बनाइ हामीमाथी प्रहार भइरहेको छ उनले सुनाए । यो गत आर्थिक वर्षदेखि ३० लाखबढी दुग्धमा अनुदान दिएको मेयर रेग्मीले जानकारी दिए । तरकारी, फलफुलमा जोड दिएका छौं उनले भने –मासुजन्य उत्पादनका लागि बाख्रापालनमा लगानी गरेका छौ ।
नगर उपप्रमुख विमला तमाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले चालू आर्थिक वर्षमा भएका कामकार्वाही तथा उपलब्धिबारे प्रकाश पार्दै नागरिकको सुझाव र अपेक्षाअनुसार काम भइरहेको बताए । उनले गत चालू आर्थिक वर्षको पुँजीगत खर्चबारे जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु, कर्मचारी तथा पत्रकारहरुको सहभागिता थियो ।
–00–