गैँडाकोट, २९ पुस । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज चर्चित गायक अर्जुन सापकोटासहित विभिन्न कलाकारहरूको प्रस्तुति हुने भएको छ ।
महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार मंगलबार आयोजना हुने सांस्कृतिक कार्यक्रममा अर्जुन सापकोटासँगै सपना रोक्का र भरत क्षेत्रीले प्रस्तुति दिनेछन् । कार्यक्रमको सञ्चालन गायक तथा उद्घोषक दीपक खड्काले गर्नेछन् । यसै दिन भजन प्रतियोगितासमेत आयोजना गरिनेछ । प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार भजन प्रतियोगितामा विभिन्न क्षेत्रबाट १८ टिम सहभागी भएका छन्, जसमा आठ टिम दोस्रो चरणमा प्रवेश गरेका छन् । महोत्सवमा मौलाकालिका मन्दिरको प्रतीक झल्किने गेट, जलपरी र ओपेरा हाउस प्रमुख आकर्षणका रूपमा रहेका छन् ।

यस वर्षको महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिएको छ । कृषि प्रदर्शनी, स्थानीय उत्पादनका स्टल, व्यावसायिक स्टल, रेष्टुरेन्ट तथा बाल उद्यान महोत्सवभित्र समावेश गरिएको सापकोटाले बताए । जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिव तथा महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेका अनुसार महोत्सवमा मुस्ताङबाट ल्याइएको ‘याक’ समेत प्रदर्शनीमा राखिएको छ, जसमा चढेर फोटो तथा भिडियो खिच्न सकिने व्यवस्था गरिएको छ ।
माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब २५० स्टल राखिएका छन् । दुई लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ भने करिब २५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सव अवलोकनका लागि साधारण दर्शकका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ टिकट तोकिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा शैक्षिक संस्थाबाट समूहमा सहभागी विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सव परिसरको सुरक्षाका लागि आन्तरिक तथा बाह्य सुरक्षाकर्मी परिचालन गरिएको छ भने सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको आयोजकले जनाएको छ ।–00–


