गैँडाकोट, २७ पुस । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज गायिका समीक्षा अधिकारीसहितका कलाकारको प्रस्तुती रहने जनाइएको छ ।
महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर खनालका अनुसार आज आइतबार सांस्कृतिक कार्यक्रममा समीक्षा अधिकारीसहित सरिता गुरुङ, दीपक खड्का एवम् आरसी पौडेलको प्रस्तुती रहनेछ ।
महोत्सवमा धर्म र संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय भजन प्रतियोगितासमेत आजदेखि सुरु हुने लम्सालले जानकारी दिए । भजन प्रतियोगितामा विभिन्न जिल्लाबाट समूहरुले भाग लिएका लम्सालको भनाइ छ ।
पुस २५ देखि सुरु भएको महोत्सव आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले बताए । सापकोटाकाअनुसार यसवर्षको महोत्सवमा मुख्य आकर्षणको रुपमा जलपरी तथा ओपेरा हाउस राखिएको छ । महोत्सवको दुई लाख दर्शकले अवलोकन गर्दा २५ करोड रुपैयाँको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा रहेको छ । –00–


